दोलखाको कालिन्चोक र सैलुङमा हिमपात

 दोलखाको कालिन्चोक र सैलुङमा यो वर्ष फागुनको मध्यमा आइतबार पहिलो पटक हिमपात भएको छ । गत वर्षहरुमा पुसको पहिलो हप्ताबाट नै हिमपात हुने कालिन्चोक र सैलुङमा फागुन लागिसक्दा समेत हिमपात नहुँदा होटल व्यवसायी तथा किसानहरू निराश भएका थिए ।

‘ढिलै भए पनि हिमपात भएको छ यसले दोलखाको होटल तथा पर्यटन व्यवसायमा केही सकारात्मक प्रभाव पर्ने छ’ कालिन्चोक कुरीमा रहेको सुनपाती होटेलका सञ्चालक हरि ओलीले भन्नुभयो ।

कालिन्चोकमा आइतबार दिउँसो तीन बजेबाट केही घण्टा हिमपात भएको छ ।

सैलुङ आसपास पनि आइतबार दिउँसो करिब चार बजेबाट हिमपात भएको सैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दुलालले बताउनुभयो । लामो समय पछिको हिमपातले किसानहरू खुशी भएको दुलालको भनाई छ ।

पछिल्लो समय दोलखा र रामेछापको सिमाना सैलुङ धार्मिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य बनेको र आइतबारको हिमपातले उक्त क्षेत्रमा पर्यटकको ध्यान तानेको सैलुङ स्थायी घर भएका समाजसेवी शोभित उप्रेतीले बताउनुभयो ।


ताजा खबर