आर्मीका दीपक र एपिएफकी फुलमतीलाई उपाधि

दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले जित्नुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा पुरुषतर्फ दीपकले निर्धारित दूरी एक घन्टा पाँच मिनेट आठ सेकेन्डमा पूरा गर्नुभयो । महिलामा फुलमतीले निर्धारित दुरी एक घन्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभयो ।

उपाधिसँगै दुवै खेलाडीले जनही एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । पुरुषतर्फ राजन रोकाया दोस्रो, नरेन्द्र सिंह रावल तेस्रो, तीर्थ पुन चौथो र आर्मीका शुसील कुमार शाही पाँचौं हुनुभयो ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राममाया बुढा दोस्रो, आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो, आर्मीकै कल्पना खड्का चौथो र पुलिसकी अञ्जु खड्का पाँचौं हुनुभयो । विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा १० किमि र पाँच किमि दौड पनि समावेश गरिएको थियो । नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गरेको एक दिने प्रतियोगितामा पाँच हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।


ताजा खबर