निर्वाचनबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउनुभएको छ । साथै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवम् खटिएका कर्मचारी पुर्‍याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भनी प्रशंसा गर्नुभएको छ ।

निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्शेर जबराको उपस्थिति थियो । उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको थियो ।


ताजा खबर