नोट राष्ट्रिय सम्पत्ति : जतन र सुरक्षा हामी सबैको दायित्व

नेपालीजनलाई हरेक वर्ष मनाइने दशैँको अत्यधिक महìव त रहन्छ नै, सँगसँगै यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्छ। विगतमा जस्तै यस वर्ष पनि दशैँ नजिकिएसँगै देशभरका बैङ्कमा नयाँ नोट साट्नका लागि मानिस लाइन बसेको देखिएको छ। दशैँ, तिहारजस्ता चाडपर्वको समयमा आमनागरिकलाई नयाँ नोटको अत्यधिक मोह रहने भए पनि नोटको सुरक्षाका विषयमा हुने हेलचेक्र्याइँले दशैँमा नयाँ नोट असुरक्षित बन्ने गरेको छ।

दशैँमा टीका, जमरा र आशीर्वादसँगै आफन्तजनलाई दक्षिणास्वरूप उपलब्ध भएसम्म नयाँ नोट दिने रहर सबैलाई हुन्छ। यही कारण बैङ्कमा लाइन लागेर नै भए पनि नयाँ नोट प्राप्त गर्ने प्रयत्नमा आमनागरिक हुन्छन्। नेपाल राष्ट्र बैङ्कले हरेक वर्षको दशैँ–तिहारमा अवौँ रुपियाँ बराबरका नयाँ नोट बजारमा पठाउने गरेको छ। अघिल्लो वर्ष दस अर्ब बराबरको नयाँ नोट सटही गरेको केन्द्रीय बैङ्कले यस वर्ष दस, बीस, पचास र सय रुपियाँ दरका १५ अर्ब रुपियाँभन्दा बढीको नयाँ नोट बजारमा पठाएको छ।

राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कलाई पत्राचार गर्दै गत असोज २ गतेदेखि आफ्नो बैङ्कका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा मिलाउन अनुरोध गरेको थियो। यसबाट केही समय लाइन बसेरै भए पनि दशैँका लागि अधिकांश नागरिकले नयाँ नोट प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको छ तर यसरी प्राप्त गरिएको नयाँ नोटको प्रयोगमा गरिने हेलचेक्र्याइँ र असावधानीले राष्ट्रिय खर्चमा अनावश्यक वृद्धि भई अर्थतन्त्रमा नकारात्मक प्रभावसमेत परिरहेको अवस्था विद्यमान छ। नयाँ नोट उत्पादन गर्न बर्सेनि राज्यको धेरै खर्च भइरहेको हुन्छ। एक र दुई रुपियाँ दरका नोटको उत्पादन लागत उक्त नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकाले नेपाल राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नै छपाइ गर्न छोडिसकेको छ। नेपाली नोटको छपाइसमेत विदेशमा हुने गर्छ। अहिले रु. ५० दरका नोट फ्रान्समा र रु. १०० का नोट बेलायतमा छापिन्छ भने बाँकी सबै दरका नोट चीनमा छपाइ हुँदै आएको छ। प्रत्येक नोटको छपाइमा ढुवानी खर्चबाहेक कम्तीमा दुई रुपियाँदेखि बढीमा सात रुपियाँसम्म खर्च हुने गरेका समाचार सार्वजनिक भएका छन्।

नयाँ नोट उत्पादन गर्न बर्सेनि राज्यको धेरै खर्च भइरहेको हुन्छ। एक र दुई रुपियाँ दरका नोटको उत्पादन लागत उक्त नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकाले नेपाल राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नै छपाइ गर्न छोडिसकेको छ। नेपाली नोटको छपाइसमेत विदेशमा हुने गर्छ। अहिले रु. ५० दरका नोट फ्रान्समा र रु. १०० का नोट बेलायतमा छापिन्छ भने बाँकी सबै दरका नोट चीनमा छपाइ हुँदै आएको छ।

छपाइका लागि प्रक्रिया सुरु गरेर नोट छपाइ भई राष्ट्र बैङ्कसम्म आइपुग्न करिब एक वर्ष लाग्ने र छपाइ खर्चका अतिरिक्त ठूलै आकारमा ढुवानीको महँगो लागतसमेत बेहोर्नुपर्ने भएकाले पनि नेपाली नोटको उत्पादन लागत निकै बढी छ। नोट झुत्रो र फोहोर बन्नु भनेकै मुलुकले बेहोरिरहेको यो लागत बराबरको रकम सोझै नोक्सानीमा पर्नु हो। एकातिर यो अवस्था छ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार कागजी नोटको आयु चार वर्ष हुने गरेकोमा नेपाली नोटको सरदर आयु भने एक वर्ष मात्रै रहेको तथ्याङ्क छ। यसरी महँगो रूपमा उत्पादन भएका नोटको पर्याप्त सुरक्षा नभएकै कारण आयु छोटिन गई देशको अर्थतन्त्रलाई ठूलो घाटा पुगिरहेको छ।

कागजी नोट झुत्रिने, च्यातिने, फोहोर बन्ने र आयु छोटिने अवस्था निम्तिनुमा नोटको प्रयोगसम्बन्धी हाम्रो गलत अभ्यास एवं प्रचलन कारकका रूपमा रहेको छ। दशैँअघि सलक्क र सफा रूपमा नागरिकको घर–घरमा भित्रिएका नयाँ नोट दशैँको टीका प्रारम्भ भएसँगै रङ्गी–चङ्गी एवं राताम्मे रूप लिएर बजारमा देखिने गर्छन्। दशैँतिहारजस्ता चाडबाडमा नोटलाई सम्पत्ति मानेर रङ, अबिर आदिले पूजा गर्ने, नोटमा पानी पर्नबाट नजोगाउने, टीकाटालो गर्दा पनि नोटलाई रङ्गिन अक्षता, अबिर, आदिले बिरूप बनाएर लेनदेन गर्ने आमप्रचलन छ।

दशैँको समयमा नोटमा जमरा र फूलटीका राखेर दक्षिणा दिने प्रचलनले पनि नोटलाई असुरक्षित बनाइरहेको छ। यस्ता चाडपर्व र अन्य धार्मिक, सामाजिक कार्यमा नयाँ नोट नै चाहिने परम्परागत मानसिकतालाई त्याग्न नसक्दा पनि नोटको असुरक्षा बढिरहेको छ। यसका अतिरिक्त अन्य समयमा पनि नयाँ नोटको सम्मान र इज्जत गर्नमा हामी चुकिरहेका हुन्छौँ। नोटलाई अनावश्यक रूपमा घरमा थन्काएर राख्ने विशेषगरी समाजका ज्येष्ठ नागरिकको चलन नै छ। यसबाट नोटमा ढुसी पर्ने, पुरानो देखिने, कुहिने र झुत्रिने समस्या रहेको छ। यसैगरी सानातिनादेखि ठूल्ठूला मन्दिरमा कागजी नोट चढाइने प्रचलन पनि नोटको सुरक्षामा चुनौतीकै रूपमा रहेको छ।

यति मात्र हैन, नोटलाई कसरी बोक्ने र लेनदेन गर्ने भन्ने कुरामा पनि उचित ध्यान पुग्न सकेको छैन। राष्ट्रिय नोटप्रतिको हाम्रो मानसिकता यतिसम्म गिरेको छ कि देशभित्रै पनि डलरलगायतका अन्य विदेशी नोटलाई बडो जतनका साथ राख्ने र लेनदेन गर्ने गरिन्छ भने नेपाली नोटलाई लापरबाही तरिकाले कच्याककुचुक पारेर हातमा बोक्ने, खल्ती वा ब्यागमा कोच्ने, थैलीमा खाँद्ने, धेरै तह बनाएर फोल्ड गर्ने, नोटमा केरमेट गर्नेसमेत गरिन्छ। विशेषगरी अन्य सामानको सुरक्षामा अत्यन्त हेरचाह गर्नेहरूले नोटको हेरचाहमा भने व्यापक हेलचेक्र्याइँ गरिरहेको देख्न पाइन्छ।

नोटलाई शरीरमा बाँधेर राख्ने, पर्समै राख्दा पनि धेरै फोल्ड गरेर कोचेर राख्ने र कच्याककुचुक बनाएर हातमा बोक्ने काम गरिरहेको दृश्य हाम्रा लागि सामान्य बन्ने गर्छ। अर्कोतर्फ खासगरी स्कुल–कलेजमा अध्ययन गरिरहेका अहिलेका युवापुस्तामा समेत नोटलाई कच्याककुचुक बनाएर खल्तीमा या ब्यागको साइडमा कोच्ने लहर चलेको देखिन्छ। युवायुवतीले प्रेमिल सायरी कोर्नेदेखि दुव्र्यसनीले अखाद्य वस्तु प्याक गर्नेसम्मको काममा नोटको दुरुपयोग भइरहेको छ।

दशैँ–तिहारलगायतका चाडबाड एवं अन्य समयमा समेत नोटलाई सुरक्षित तवरले राख्ने र लेनदेन गर्नेतर्फ गम्भीर बन्नैपर्छ। चाडबाडका अवसरमा गरिने टीकाटालोका क्रममा नोटलाई खामभित्र वा कागजमा प्याक गरेर दक्षिणा दिने प्रचलनले नोटको सुरक्षामा बल पुर्याउने गर्छ। यसो गर्न नसकिएमा पनि नोटलाई नभिजाउने, टीका, जमरा आदिलाई नोटमाथि नराख्ने र सकेसम्म जतनसाथ दक्षिणा लेनदेन गर्ने हो भने धेरै हदसम्म दशैँ–तिहारकै समयमा पनि नोटलाई सुरक्षित राख्न सकिन्छ।

यसबाहेक अन्य समयमा पनि नोटलाई कच्याककुचुक बनाएर बोक्ने, पर्समा कोच्ने, शरीरका अङ्गमा बाँध्ने, केरमेट गर्नेजस्ता बानीमा सुधार ल्याउन आवश्यक छ। नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्ने, कुनै प्रकारको रङ नलगाउने, नोटमा जथाभावी नलेख्ने, नोटलाई च्यात्ने, स्टिच गर्ने, टाँस गर्नेजस्ता नोटको क्षति हुने तथा आयु घट्ने किसिमका कार्य नगर्नतर्फ सबैको ध्यान पुग्न आवश्यक छ।

कागजी नोटको प्रचलन विश्वव्यापी रूपमा नै रहेको र यसले आममानिसको दैनिकीलाई सहज बनाउनुका साथै वर्तमानसम्म आइपुग्दा नोटबिनाको दैनिकीको कल्पना नै गर्न नसकिने अवस्थाको सिर्जना भइसकेको छ। पछिल्लो समयमा कागजी नोटहरूसरह विनिमय गर्न सकिने गरी विभिन्न किसिमका कार्ड प्रचलनमा रहेको भए पनि हाम्रो सन्दर्भमा भने मूलतः कागजी नोटकै दबदबा रहेको छ। भनिन्छ, मुलुकमा चल्तीमा रहेको नोटको अवस्था हेरेर त्यस देशको सामाजिक विकासको अवस्था आकलनसमेत गर्न सकिन्छ। कुनै पनि देशको नोट मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको हुन्छ तर हामी नेपाली यो विषयमा अत्यन्त गम्भीर हुन सकेका छैनौँ। हामीले राष्ट्रिय इज्जतमाथि नै खेलबाड गरिरहेका छौँ। यस खालको स्थितिलाई अन्त्य गर्दै कागजी नोटको समुचित उपयोगतर्फ सबैको ध्यान पुग्न जरुरी छ।

राष्ट्रिय सम्पत्ति भएकाले नोटको सुरक्षा गर्नु यसको कारोबारमा संलग्न हरेक व्यक्ति, संस्थालगायत सबैको दायित्व हो। नोटको सुरक्षाका विषयमा आमनागरिकसम्म पुग्ने गरी व्यापक रूपमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि उत्तिकै आवश्यक छ। नोटको बढ्दो असुरक्षित उपयोगलाई निरुत्साहित गर्न नोटसरह विनिमय गर्न सकिने गरी प्रचलनमा ल्याइएका विभिन्न किसिमका कार्डको प्रयोग र पहुँचलाई वृद्धि गरिनु आवश्यक छ। आमनागरिकको सचेतता र नोटको कारोबारमा संलग्न संस्थाको प्रतिबद्धता भएमा कागजी नोटको सुरक्षामा बढोत्तरी भई अर्थतन्त्रमा परिरहेको मार कम हुने र देशको प्रतिष्ठासमेत वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।


ताजा खबर