‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान उत्कृष्ट घोषित : भारतीय पर्यटक नेपालमा आकर्षित गर्न सहयोग पुर्याउने विश्वास

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपालले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ उत्कृष्ट अभियान घोषित भएको छ । यस अभियानले अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्राप्त गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीको अशोका होटलमा शुक्रबार साँझ (१६ नोभेम्बर) मा आयोजना गरिएको एक समारोहकाबीच भारतीय राज्यसभाका साँसद तथा पूर्वमन्त्री विजय गोयलले भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यलाई सो अवार्ड प्रदान गर्नुभएको थियो ।

अवार्ड समारोहपछि नेपाल भ्रमण वर्षको संयोजक वैद्यले पर्यटन वर्षको पूर्व सन्ध्यामा पाएको अवार्डले भारतीय पर्यटकहरुलाई नेपाल गन्तव्य तर्फ आकर्षित गराउन थप सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो अवार्डले भारतीय ट्राभल तथा टुर अपरेटर्सहरुका माँझ नेपाल गन्तव्य पूनः स्मरण गराएको हुँदा उहाँहरुलाई नेपाल गन्तव्य प्रवर्धन गर्न सकारात्मक सन्देश पुरयाएको बताउनुभयो ।

समारोहमा राष्ट्रिय पर्यटन बोर्डका एशियाका उत्कृष्ट सिइओको अवार्ड नेपाल पर्यटन बोर्डका सिइओ दीपक कुमार जोशीलाइ प्रदान गरिएको थियो । जोशी समारोहमा सहभागी नभएका कारण संयोजक वैद्यले नै सो अवार्ड ग्रहण गर्नुभएको थियो । समारोहमा अन्य नेपालका विभिन्न ट्राभल्स तथा टुर, पर्यटकीय गन्तब्यका सञ्चालकलाई पनि सम्मान गरिएको थियो ।

रासस


ताजा खबर