यसरी उदाएको थियो ‘नौ लाख तारा’

मैले अगमसिंह गिरी र अम्बर गुरुङलाई पहिलो पटक सन् १९५७ मा दार्जीलिङमा सुनेको थिएँ। म गोर्खा दुःख निवारण सम्मेलन हलको बन्द फलामे गेट बाहिर उभिएको थिएँ।

पिटर जे कार्थक 

‘भेराइटी-च्यारिटी’ भनिने कार्यक्रम गर्ने मौसम थियो त्यो। मैले एउटा सुन्दर गीत लाउडस्पीकरमा बजिरहेको सुनेँ। हलमा एउटा वियोगान्त नाटक मञ्चन हुँदै थियो र त्यसको मातेको नायक गीत गाउँदै थियो ।

त्यो अम्बर गुरुङको स्वर थियो, अगमसिंह गिरीको शब्दमा आफ्नै सङ्गीतमा गुरुङले गाउँदै गरेको त्यस गीतको विशादपूर्ण पहिलो पङ्क्ति मलाई अझै याद छः

धरमर धरमर रात

लम्की वरवर आयो

किन यो थोत्रो जीवनलाई

प्रतिपल फेरि सतायो

यी शब्दका कवितात्मक भावलाई अम्बर गुरुङको लयात्मक सङ्गीले राम्रो समातेको थियो र गीतसित गुरुङको सुरिलो स्वर मिलेको थियो । त्यस सङ्गीतको रचनामा सेभेन्थ, मेजर नाइन्थ र डिमिनिस्ड कर्डहरूको प्रयोग गरिएको थियो र गीटार तथा एकोर्डियनमा ती सुरहरू बजाइएका थिए। भायोलिनहरू उदास धुनमा रोइरहेका थिए । त्यस साझ त्यस भावुक धुनले मानिसहरूलाई पक्कै पनि रुवाएको हुनुपर्छ ।

मेरो लागि पनि मार्मिक अनुभव थियो। म त नोर बस्तीबाट दार्जीलिङमा पढ्न भनेर आएको एउटा गाउँले केटो मात्रै न थिएँ। त्यस रात मैले राम्रो शिक्षा पाएँ।

* *

सन् १९५० को मध्यमा थालिएको अगम-अम्बर गठबन्धनपछि अझ गाढा भयो र हामीले ‘नौ लाख तारा उदाए’ जस्ता अमर गीतहरू पायौँ । ‘धरमर, धरमर,’ ‘नजाऊ फर्की नेपाल’ र ‘वैशाख लाग्यो पहाडमा’ जस्ता त्यस जोडीका थुप्रै गीत अझै रेकर्ड नभई अम्बर गुरुङका संकलनमा थन्किएका छन्। दार्जीलिङका पहाडमा वसन्त ऋतुको आगमनबारे लेखिएको ‘वैशाख लाग्यो पहाडमा’ गीतका शब्दहरू अझै पनि  मेरो मनमा कुँदिएका छन्:

वैशाख लाग्यो पहाडमा

कुकुले भन्छ सुनन

हृदय हाम्रो रोएको

वतासले भन्छ सुनन

दार्जीलिङका शान्त रातमा म यी गीत एक्लै गाउँथे र साथीहरूसँग पार्टीमा म गिटार बजाएर यिनै गीत गाउने गर्थेँ। हामीले सार्वजनिक कन्सर्टहरूमा ती गीत प्रस्तुत गर्दा गोपाल योञ्जनले बजाएको बाँसुरीको धुन अहिले म सम्झन्छु । गोपालको बाँसुरीको मनमोहक धुन त पछि सत्यजित रेको चलचित्र ‘कञ्चनजंघा’ मा पनि बजेके थियो ।  चलचित्रमा कञ्चनजंघाको चाँदी जस्तो हिउँमा गोपालको बाँसुरीको सुनौलो सुर मिसिएको थियो ।

यस्ता उत्तरआधुनिक शब्दको गीत लेख्ने अगमसिंह गिरीलाई मान्नुपर्छ । बाइबलमा भनिएको छ: ‘प्रारम्भमा शब्द थियो’ अगमका शब्दबाट सबै कुरा थालिएको थियो । त्यसपछि आयो अम्बर गुरुङको अद्वितीय सङ्गीत र स्वर। अनि आयो गोपालको बाँसुरी र त्यसपछि कर्म योञ्जन, शेखर दीक्षित, गणेश शर्मा र इन्द्र गजमेरका तारबाजाका सुललित धुनहरू। अनि आए ललित तामाङको गिटार, शरण प्रधानको मेन्डोलिन र रञ्जीत गजमेरको तबला । तर यो सबैको सुरुवात भएको थियो –अगमसिंह गिरीका शब्दबाट, उनी त्यो जग थिए जसमाथि आधुनिक नेपाली सङ्गीत उभियो।

अगमसिंहले अम्बर गुरुङको आर्ट एकेडेमी अफ म्युजिक सुरु गर्न पनि सहयोग गरेका थिए। अगमसिंह प्रधानाध्यापक भएको भानुभक्त स्कुल एकेडेमीका सुरुवाती दिनमा भेटघाटको थलो थियो ।

हामी राती त्यहाँको कुनै एउटा कक्षाकोठामा बसेर मैनबत्तीको उज्यालोमा अभ्यास गर्थ्यौं। दौरा सुरुवाल र टोपीमा चिटिक्क परेर अगमसिंह अचानक आईपुग्थे, अम्बर गुरुङसँग हल्का गफ गर्थे र हार्मोनियमको कभरमाथि आफ्नो नयाँ गीत छोडेर जान्थे।

कतिपय मान्छेले अगमसिंहलाई नेपालको राजा महेन्द्र जस्तै भन्थे, किनभने उनी महेन्द्र जस्ते देखिन्थे। राजा महेन्द्र त्यसताका दार्जीलिङ गइरहन्थे ।  उनका ६ जना छोराछोरी सबै त्यहाँ पढिरहेका थिए । त्यसैले मानिसहरू उनलाई चिन्थे।

महेन्द्र पनि गीत र कविता लेख्थे। तर दुईबीच धेरै ठूलो फरक थियो। एल्मर ग्यान्ट्री जस्तो अगमसिंहको जीवन दिउँसो पढाउनमा र गीत लेख्नमा, अनि साँझ परेपछि (कहिलेकाँही बिहानसम्मै) रक्सी पिउनमा बित्थ्यो। महेन्द्र काठमाडौँमा सोचमग्न रहन्थे, सन् १९६० को डिसेम्बरमा नेपाललाई आफ्नो मुट्ठीमा नलिएसम्म।

एकदिन दिउँसो हामी नर्थ पोइन्टका विद्यार्थीहरू अजिलाको बारिक मोटर स्ट्यान्ड बारमा छ्याङले दह्रिँदै थियौँ। त्यस दिन हाम्रो कलेज र २/८ गुर्खा राइफल्सको बीचमा अभूतपूर्व फुटबल म्याच हुन लागेको थियो। अगम दाजु (हामी उनलाई सर भन्थ्यौं) भित्र आए र हामीसँगै बसे। तर एकैछिनमा उनी अजिलाको कार्पेट हालिएको दिवानमा लडे। उनले अन्तै कडा रक्सी खाएर आएको स्पष्ट थियो।

ठूलो जीउज्यानकी अजिलाले उनलाई सलाइको काँटी उठाएझैं गरी उठाइन्  र आराम गर्नका लागि कोठामा लगेर सुताइन् । उनको हलुका वजन आतेसलाग्दो देखिन्थ्यो।

चाँदमारी रोडको ठाडो र घुमाउरा नालीमा कहिलेकाँहीं मातेर लडेका दुई जना प्रधानाध्यापक पनि भेटिने कुरा सबैलाई थाहा थियो। दयालु बटुवाहरूले उनीहरूलाई घर ल्याइदिन्थे। तीमध्ये एक जना अगम सिंहगिरी थिए र अर्का मेरै बाजे पर्ने अल्बर्ट कार्थक। अगम सर मेरा छिमेकी थिए। उनको घर मेररे घरबाट अलिकति मात्रै तल थियो।  उनको कान्छो भाइ माधव मेरो मिल्ने साथी थियो । हामीलाई अगम सरको चिन्ता लाग्नु स्वाभाविक थियो।

उनलाई त्यस्तो अवस्थामा हामीले भित्र आउन नदिने कारण थियो- केही दिन अगाडि उनले अम्बर गुरुङले गाउँदै गर्दा एउटा गीत लेख्न थालेका थिए। तर अन्त्यमा उनले एउटा पानामा जम्मा एउटा अक्षर लेखेका थिए र त्यस एउटा अक्षरमा भएभरका  इकार, उकार, रेफ, चन्द्रबिन्दु,  हलन्त सबै हालेका थिए।
उनी जब आफ्नो अर्को घर जान्थे, त्यो झनै चिन्ताको विषय हुन्थ्यो। रात निकै छिप्पिसकेपछि उनी भिक्टोरिया रोडबाट तलतिर पादरी कमान हुँदै लोयड बोटानिकल गार्डेनमुनि पुग्थे। सडकमा बत्ती कम थिए र टी इस्टेट पूरै अँध्यारो हुन्थ्यो। जसोतसो उनी त्यस दोस्रो घरमा पुग्थे, जहाँ उनकी कान्छी पत्नी बस्थिन्। उनी सुन्दर थिइन्, उनको बोली व्यवहार मीठो थियो । उनी अगम सरको छोरीकी उमेरकी थिइन्।

अगम सर एकदिन रञ्जितको घरमा दुइटा फरकफरक जुत्ता लगाएर पुगेका थिए। कोठामा यताउता खोजेपछि उनले तीमध्ये एउटाको जोडी भेट्टाए । अप्ठ्यारो मानेर हाँस्दै उनले त्यो लगाए र अर्के बिजोडी जुत्ता त्यहीँ छोडेर हिँडे। अघिल्लो रात भएको पार्टीपछि उनी फरकफरक जुत्ता लगाएर निस्केका रहेछन्। बिजोडी जुत्तासँगसँगै उनले रञ्जित र मेरो लागि एउटा गीत पनि छाडेर गए।

अर्को एक साँझ हामी मरीअम कटेज एरियामा रहेको अम्बर सरको डेरामा अभ्यास गर्दै थियौं। अम्बर सर र गोपालबीच एउटा रागमा जुगलबन्दी सुरु भयो जसमा अम्बरको हार्मोनियमले सोध्थ्यो र गोपालको बाँसुरीले जवाफ दिन्थ्यो । जुलगबन्दी सकिएपछि हामीले ढोकामा कसैले ढकढक गरेको सुन्यौं। रक्सीले टन्न मातेका अगमसिंह हुन् भन्ने हामीलाई थाहा थियो। ढोकामा ढकढकको आवाज तेज हुँदै र आखिरमा त्यो रोकियो । जाने बेलामा अगमले “यो दैलो पनि ढुंगा भएछ, मलाई थाहै थिएन” भनेर गए ।

उनलाई त्यस्तो अवस्थामा हामीले भित्र आउन नदिने कारण थियो- केही दिन अगाडि उनले अम्बर गुरुङले गाउँदै गर्दा एउटा गीत लेख्न थालेका थिए। तर अन्त्यमा उनले एउटा पानामा जम्मा एउटा अक्षर लेखेका थिए र त्यस एउटा अक्षरमा भएभरका  इकार, उकार, रेफ, चन्द्रबिन्दु,  हलन्त सबै हालेका थिए।

अगम दाजु सम्बन्धी मेरो अन्तिम सम्झनामा उनी एकदिन बेलुकी मातेर मेरो घरको गेट हल्लाउन आइपुगेका थिए। उनले भने, “पिटर भाई, हामी यी बिहारी, कैँया (मारबाडीलाई हेपेर बोलाउने शब्द) र बंगालीहरूलाई दार्जीलिङबाट खेदाउनुपर्छ। यो भूमी हाम्रो हो। उनीहरू यहाँका होईनन् ।”

अब यहाँ मलाई बौद्धिक धर्मसङ्कट पर्यो। किनभने दार्जीलिङ खासमा मेरो भूमि थियो, मेरा आदिवासी पुर्खा लेप्चाहरूको भूमि। पूर्वी नेपालको कन्काई नदी उनीहरूको पश्चिमी सिमाना थियो र नेपालके इलाम, झापा र हाल भारतको दार्जीलिङसम्मको भूभाग लेप्चाहरूको थियो। रोङहरूको अधिराज्य सिक्किम भारतको ‘संरक्षित राज्य’ थियो।

तर अगमसिंह गिरीलाई यी सबै कुरा कसरी बुझाउने ?

“तपाईं अहिले मात्नुभएको छ अगम सर, त्यसैले अहिले त्यसमा केही गर्न सकिँदैन,” उनलाई घर पुर्याउनु अगाडि मैले यति मात्रै भनें।

दार्जीलिङलाई छुट्टै राज्यको मान्यता दिनुपर्ने माग सन् १९०७ मा ब्रिटिस राज हुँदा नै उठाइएको थियो।  त्यसैले पनि होला, अगम सिंह गिरी आफ्नो जीवनकालमा निराश बनेका । मोहभंग भएको नेपाली डायस्पोराको भावनालाई उनले ‘नौ लाख तारा’ भन्ने गीतमा सन् १९६० तिरै उतारेका थिए जुन गीत पूरै नेपाली संसारमा लोकप्रिय भएर चम्केको थियो।
लेप्चाहरूको त्यो विशाल भूमी हराइसकेको थियो । नेपाल र भारतका थुप्रै सानासाना टुक्रामा बाँडिसकिएको थियो। सिक्किम पछि गएर भारतकै भाग बन्यो, दार्जीलिङलाई गोर्खाल्यान्डको नाम दिइयो। त्यो कुनै समयमा ‘नो म्यान्स ल्यान्ड’ थियो ।

अहिले फर्केर हेर्दा पनि अगम सिंह गिरीको ऐतिहासिक दूरदृष्टिको अभाव होला तर त्यसलाई बुझ्न सकिन्छ । तर दार्जीलिङमा उम्रिएर भारतका सबै नेपाली मूलका नागरिकहरूले स्वीकारेको उनको भारतीय नेपाली राष्ट्रवादको जुम्ल्याहा भावना व्यावहारिक देखिए पनि अनुरण नगरिएको आदर्श बनेको छ । भारतीय नेपाली पहिचानको यस अवधारणालाई भारतका हरेक राजनीतिक पार्टी र नेता, हरेक सरकार र संवैधानिक बौद्धिकहरूले सदा कुण्ठित गर्दै आएका छन्। यसप्रतिको बेवास्तालाई दार्जीलिङबाटै कोलकाताको विधायनसभामा ‍र नयाँ दिल्लीको लोकसभामा चुनिएका भारतीय नेपाली जनप्रतिनिधिहरूले  झनै बल पुर्‍याएका छन्।

दार्जीलिङलाई छुट्टै राज्यको मान्यता दिनुपर्ने माग सन् १९०७ मा ब्रिटिस राज हुँदा नै उठाइएको थियो।  त्यसैले पनि होला, अगम सिंह गिरी आफ्नो जीवनकालमा निराश बनेका । मोहभंग भएको नेपाली डायस्पोराको भावनालाई उनले ‘नौ लाख तारा’ भन्ने गीतमा सन् १९६० तिरै उतारेका थिए जुन गीत पूरै नेपाली संसारमा लोकप्रिय भएर चम्केको थियो।

अगमसिंह गिरीले ‘युद्ध र योद्धा’जस्ता महाकाव्य पनि लेखे। तर ग्रीक मिथकको हर्कुलस जस्ता पात्रहरूको महान् कर्महरूको बखान त्यसमा परेका थिएनन्। बरु उनका कृतिहरू बालकृष्ण समका नाटकीय चिसो चुल्होजस्ता कृतिका पूर्व सङ्केत थिए। नेपाली भाषाका उनका कविताले त्यस प्रागएतिहासिक स्थलका लेप्चा कथा र मिथकलाई विस्थापित गरिदिए। तथापि हामी रोङ र लेप्चाको विशाल भूमिमा सधैं निर्दोष र प्रिय पात्रका रूपमा रहिरह्यैँ । उनको भारतीय नेपाली राष्ट्रवादको निष्कपट सपनाको थलो दार्जीलिङ पहाड पनि अब त पहिलेको जस्तो रहेन ।

(अगमसिंह गिरीको जन्म सन् १९२८ मा र मृत्यु १९७१ मा भयो ।

१५ अक्टोबर २००३ मा द काठमाडौं पोस्टमा प्रकाशित । ६ डिसेम्बर २०१६ मा कुपण्डोल, ललितपुर र २३ अप्रिल  २०१७ मा काठमाडौंको शान्तिनगरमा परिमार्जित ।)

(नेपालीमा साभार गरिएको ‘नेपाली सङ्गीतस्रष्टा: दार्जीलिङ र काठमाडौँको सङ्गीत संसार ‘पुस्तकमा याे स‍ंस्मरण ‘अगमसिंह गिरीको: दिलैदेखि प्रवास’ शीर्षकमा प्रकाशित छ । हिमाल खबरकालागि अङ्ग्रेजी मूलबाट अनुवाद: सेवा भट्टराईले गर्नुभएको हो) 


ताजा खबर