दक्षिण एशियाको क्रिटिकल केयर नर्सिङमा नेपालले नेतृत्व लिँदै : सार्कस्तरीय सम्मेलन बुटवलमा जारी

सार्क राष्ट्रका क्रिटिकल केयर नर्सहरुको साझा संगठन ‘रिजनल फेडरेसन अफ क्रिटिकल केयर नर्स’को दोस्रो अन्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा चलिरहेको छ।

सम्मेलनमा सार्कका सदस्य देशहरु तथा बाह्य मुलुकका गरी २५ जना भन्दा बढी विदेशी प्रतिनिधिले सहभागिता जनाएका छन्।

सार्कका प्रतिनिधिका अतिरिक्त युएई, अमेरिका, क्यानडा, बेलायतलगायतका देशको सम्मेलनमा सहभागिता रहेको छ।

सम्मेलनमा रजिष्ट्रेसन गरेका ४ सय ५० जना नर्स सहभागी भएका छन् भने २५ जना अन्तर्राष्ट्रिय व्यक्तित्व, अर्गनाईजिंग कमिटीका प्रतिनिधि पनि सहभागी छन्।

सम्मेलनले नर्सहरुको क्षमता अभिवृद्धि तथा क्रिटिकल केयर सिप विकास गर्ने लगायतका महत्वपूर्ण विषयमा साझा धारणा तय गर्ने बताइएको छ।

सम्मेलन नेपालकै सबैभन्दा पहिली क्रिटिकल केयर नर्स मानिएकी रामेश्वरी श्रेष्ठले उदघाटन गरेकी छन्। सो अवसरमा उनले नर्सहरुको क्षमता अभिवृद्धि गर्न सम्मेलन सफल हुने धारणा राखिन्।

सम्मेलन उदघाटन सत्रको अध्यक्षता सर्कस्तरीय क्रिटिकल फेडरेसनकी अध्यक्ष जया कुरुभिल्लाले गरेकी थिइन्।

सम्मेलनको दोस्रो दिन शनिबार २५ जना अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिएको छ।

त्यस्तै क्रिटिकल केयर नर्सिङका गुणस्तरसम्बन्धी विषयहरु, विश्वस्तरमा भइरहेका अभ्यास तथा प्राविधिक विकासलगायत क्रिटिकल केयर नर्सिङका मुख्य पक्षहरुबारे गहन छलफल भएको आयोजकले बताएको छ।

त्यस्तै आयोजकका तर्फबाट नेपालमा क्रिटिकल केयर नर्सिङको अवस्था र नयाँ विषयबारे २२ जना नर्सले कार्यपत्र प्रस्तुत गरेको एसोसिएसनकी अध्यक्ष लक्ष्मी केसीले जानकारी दिइन्।

क्रिटिकल केयर युनिट संवेदनशील ठाउँ भएको र यसमा नर्सको दक्षता अभिवृद्धि जरुरी रहेको भन्दै सार्कस्तरीय सम्मेलनले यस विषयमा महत्वपूर्ण निर्णय गर्ने शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंका प्रोफेसर डा. सुवास आचार्यले बताए।

यसअघि सन् २०१७ मा नेपालमा भएको क्रिटिकल केयर नर्सहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले सार्कस्तरीय संगठन निर्माण गरेको थियो।

त्यसपछिको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भारतमा भएको थियो।

रुपन्देहीमा भएको दोस्रो सम्मेलनबाट रिजनल फेडरेसन (सार्क) को नेतृत्व आयोजक नेपालले पाउनेछ।

यसअघि भारतमा भएको पहिलो सम्मेलनबाट भारतले नेतृत्व पाएको थियो।

संगठनले आईसियूमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धिका लागि तालिमलगायतका शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।

रासस


ताजा खबर