आइसिसी यु–१९ महिला टी–ट्वान्टीमा नेपालको जीत

आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई चार विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन् । त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टि जैसीले आठ। आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन् । बलिङमा भूटानकी साङ्गे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् । त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले छ रन जोडिन् । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई/दुई विकेट लिए ।

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (युएई) सँग १० विकेटले पराजित भएको थियो ।

युएई विरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ । -रासस


ताजा खबर