शिक्षा,स्वास्थ्य र कृषि मधेस प्रदेश सरकारको प्राथमिकता

 मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा पेश गर्नुभएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा अनुत्पादक क्षेत्रको लगानी कटौती गरेर पुँजीगत खर्चमा वृद्धि गर्नुका साथै प्रदेशको आर्थिक वृद्धिका लागि वैदेशिक लगानी भित्र्याई रोजगारी वृद्धि गर्ने उल्लेख रहेको छ भने वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, वन तथा वातावरण, पर्यटनको विकास एवं सडक र अन्य पूर्वाधार निर्माणमा विशेष जोड दिइएको छ । कृषि क्षेत्रको विकासका लागि सिँचाई, उन्नत बिउ बिजन तथा रासायनिक मलको सहज आपूर्तिमा जोड दिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत पशुको उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिनुको साथै जैविक कृषि उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन दिने नीति मधेस प्रदेश सरकारले लिएको छ । यसका साथै सिँचाइमा लगानी र किसानको खुशहाली कार्यक्रम अन्तर्गत विभिन्न प्रकारको सिँचाई सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

सामूहिक बगर खेतीमा जोड दिँदै बाँझो जग्गामा खेतीका लागि प्रोत्साहन दिने नीति प्रदेश सरकारले दिएको छ । यसका साथै दक्ष कृषि क्षेत्रको प्राविधिक उत्पादनका लागि कृषि विश्व विद्यालय चाँडै सञ्चालनमा ल्याउने भएको छ ।

वन तथा वातावरणको संरक्षणका लागि जहाँ “बाटो त्यहाँ रुख त्यहाँ हुन्छ सुख” मान्यतासहित वृक्षारोपण कार्यक्रममा जोड दिइएको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहको सहकार्यमा चुरे क्षेत्रको प्रभावकारी संरक्षण वृक्षारोपण गरेर हराभरा बनाउने नीति लिइएको छ । “चुरे जगाऊँ मधेस बचाउ” मान्यता अनुसार चुरे क्षेत्रमा जलाशयको निर्माण गर्ने नीति लिएको छ ।

प्रादेशिक पर्यटन र पूर्वाधार विकासको आधार मान्यता सहित पर्यटकीय क्षेत्रको विकासमा जोड दिने भएको छ । दुग्धमति कोरिडोरको निर्माण गर्ने नीति प्रदेश सरकारले लिएको छ । प्रदेशको विभिन्न धार्मिक स्थलको निर्माण एवं विकास गर्ने नीति लिइएको छ ।

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा प्रयोगशाला परीक्षणमा ९० प्रतिशत छुट दिने नीति लिएको छ । मुटु तथा क्यान्सर रोगीलाई उपचारमा सहयोग गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

महोत्तरी जिल्लाको मटिहानीमा रहेको संस्कृत कलेज तथा विद्यालयलाई संस्कृतको अन्तर्राष्ट्रिय स्तरको अध्ययन अध्यापन केन्द्र बनाउने, २४ जना प्रदेशका उत्कृष्ट शिक्षकहरूलाई वर्षेनी रुपमा मधेस शिक्षा पुरस्कार दिने, छोरी शिक्षा विमालाई निरन्तरता दिने, कक्षा १२ का छात्राहरूलाई ल्यापटप दिने, कक्षा ८ का सामुदायिक विद्यालयका छात्राका लागि साइकल वितरणका लागि विद्यालयमा नै अनुदान रकम पठाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

यसका “जहाँ सडक त्यहाँ विकास” भन्ने मान्यतालाई आत्मसात् गर्दै सडक तथा पुलको निर्माणमा विशेष जोड दिने भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधाममा राजधानीको पूर्वाधार विकासका लागि श्रोत साधनको व्यवस्थापनका लागि सङ्घ सरकारसँग सहकार्य गर्ने नीति पनि लिएको छ ।

यसका साथै जनकपुरधाम तथा विरगञ्जको व्यवस्थित विकासका लागि विकास प्राधिकरणको गठन गर्ने जस्ता नीति दिएको छ । यसका साथै युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको विकासमा जोड दिन जरुरी रहेको छ । भाषा संस्कृतिको विकासका लागि मैथिली  तथा भोजपुरी प्रतिष्ठानको गठन गर्ने नीति लिइएको छ । विद्यापति डिहको संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै थप विस्तृत गर्ने भएको छ ।

यसअघि प्रदेश प्रमुख मिश्र प्रदेशसभामा पुग्दा सभामुख सरोज कुमार यादव, मुख्यमन्त्री लालबाबु राउत तथा मन्त्रीहरूले स्वागत गर्नुभएको थियो । पूर्णपाठ


ताजा खबर