आचारसंहिताको व्यवहारिक कार्यान्वयन गर्न निर्देशन

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न निर्वाचनको दिन वैशाख ३० गतेसम्म प्रचलित कानून र निर्वाचन आचारसंहिताको व्यवहारिक कार्यान्वयन गर्न/गराउन सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, ७ प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षा कार्यक्रम अन्तर्गत २८ र २९ गते मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा मतदान गर्ने तरिकाबारे जानकारी गराउने व्यवस्था गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि मतपत्रमा हस्ताक्षर गर्दा सिसाकमल बाहेक कालो, रातो, नीलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको कलम, डट्पेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ ।

त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात् मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृतलाई निर्देशन दिएको छ ।

भोलि राति १२ बजेदेखि सुरु हुने निर्वाचनको मौन अवधिमा उम्मेदवार र उम्मेदवारका फ्यानहरूका फेसबुक, ट्विटर, टिकटक लगायतका पेजहरूमा स्पोन्सर पोस्ट हुन सक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानलाई मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालका पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्रहरू, पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न पनि आयोगले निर्देशन दिएको छ । -रासस


ताजा खबर