डब्लुएचओका महानिर्देशक डा.टेड्रोसद्वारा नेपालको प्रशंसा

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनु भएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।

Image

भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्रायः सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गर्नुभएको थियो । कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उहाँको भनाइ छ । डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकाहरुलाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।


ताजा खबर