अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ ।

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उहाँहरुले भिडियो कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको थियो ।

अन्तरराष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तरराष्ट्रिय जिम्मेबारी पनि भएको बताउनुभएको थियो ।

उहाँहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गर्नुभएको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् ।

गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उहाँहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । -सिन्ह्वा


ताजा खबर