हिमाली र पहाडी भेगमा आज फागु पूर्णिमा ‘होली’ मनाइदै

आज, फागुन शुक्ल पूर्णिमाको दिन, अर्थात विशेष महत्वको रंगीन पर्व फागु पूर्णिमा (होली)।

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर फागु पर्व मनाइँदैछ।

फागु पर्वका उपलक्ष्यमा परंपरादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। नेपाल सरकारले आज (बिहीबार) हिमाली तथा पहाडी जिल्लाहरुमा फागु पूर्णिमाको विदा दिएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा भोली (शुक्रबार) होली मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परंपरागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाउने पुरानो परंपरा छ। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मुल हुने मान्यता छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परंपरा चलेको विश्वास गरिन्छ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई आफै मृत्यु भएको कथा छ। -रासस


ताजा खबर