सरकार र राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सरकारको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबिच राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री देउवाले नेपाल सरकारले गरेका काम र उपलब्धिसहितको ती दुवै वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्नुहुँदै प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष शेर बहादुर देउवाले राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको तथा सीमा सुरक्षालाई सबल र सुव्यवस्थित तुल्याउन उत्तर र दक्षिणी सीमानाका विभिन्न स्थानमा सीमा सुरक्षा चेकजाँच चौकी (विओपी) हरू स्थापना गरिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सो अवधिमा जलविद्युत उत्पादनले तीव्रता पाएको, जनतालाई राहत पुग्ने कार्यक्रमहरू सञ्चालन गरिएका तथा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले वर्तमान सरकार गठन भएपछि कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोप अभियानलाई तीव्रता दिइएको र त्यसको फलस्वरूप १८ वर्ष माथिका ८० प्रतिशत भन्दा बढीले पुरा मात्रा खोप प्राप्त गरिसकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सबै नागरिकले कोरोना विरुद्धको खोप निःशुल्क रुपमा पाउने र त्यसका लागि सरकारले अभियान नै चलाइरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले बेमौसमी वर्षाका कारण क्षति व्यहोरेका कृषकलाई क्षतिपूर्ति दिने नीति लिई कार्यान्वयनमा अगाडि बढाएको जानकारी दिनुहुँदै मलखादको व्यवस्थापन, विद्युत् उत्पादन प्रवर्द्धन तथा वितरण लगायतका कामलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताउनुभयो ।


ताजा खबर