‘मेरा लागि नृत्य र अभिनय दुवै एकअर्काका पूरक हुन्’

विगत साढै तीन दशकदेखि अविच्छिन्नरूपमा अभिनयमा लागेकी मिथिला शर्मालाई रङ्गमञ्च र चलचित्र दुवै क्षेत्रले एक सम्य, भद्र र मृदुभाषी कलाकारका रूपमा स्वीकारेको छ । प्रस्तुत छ, अभिनेत्री शर्मासँग समसामयिक विषयमा गरिएको सफल कुराकानीको सम्पादित अंश :

विवाहपछि अभिनयमा झन् व्यस्त हुनुभयो नि, होइन ?
खासै धेरै त हैन तर निरन्तर काम गरिरहेकी छु ।

यसको जस र कारण आफैँलाई दिनुहुन्छ, समयलाई दिनुहुन्छ या आफ्नो श्रीमान मोतीलाल बोहरालाई ?
(हाँसो) योचाहिँ बाँडीचुँडी गर्नुपर्छ होला जस्तो छ । पहिलो, मलाई राम्रो काम गर्ने मौका दिने महानुभावहरूलाई । त्यसपछि, ‘आफ्नो कामलाई शतप्रतिशत सफल पार्नुपर्छ, त्यो तिमीले सक्छौ’ भनेर हौसला दिँदै अनुकूल वातावरण बनाइदिएर मलाई विश्वास गर्ने श्रीमानलाई अनि, म र मेरो राम्रो समयलाई । यसबाहेक, मेरी दिदीलाई जसले मलाई सधैँ आत्माविश्वास बढाइरहिन् ।

मोतीलाल बोहराले महिला मिथिलालाई मन पराउनुभएको कि अभिनेत्री मिथिलालाई ?
पक्कै पनि महिला मिथिलालाई होला ।

कसरी ?
किनभने अभिनेत्री, नृत्याङ्गना, शिक्षिका आदि जे–जे उपाधि र उपनाम भए पनि त्यो त कलाक्षेत्रमा साधनारत एउटी मिथिला नै हो नि, हैन र ? र पत्नीका रूपमा स्वीकारिएकी पनि यही मिथिलालाई नै हो ।

आखिर विवाह के रहेछ त ?
जीवनयात्राका विभिन्न आयामहरू पार गर्दै जाँदा पाइने साथहरूमध्ये एउटा विशेष साथ हो । विवाहले राम्रो–नराम्रो गुणभन्दा नि आफ्नो भनेर साथ दिने साथी दिन्छ । जसलाई धार्मिक आशीर्वाद र सामाजिक मान्यताका साथै परिवारिक समर्थन मिलेको हुन्छ ।

बन्दाबन्दीका बेला विश्वभरिका कलाकारहरू घरघरबाटै आफ्नो कलाकारिता प्रस्तुत गरिरहेछन्, तपाईं के गर्दै हुनहुन्छ ?
विशेष प्रस्तुति केही गरेकी छैन तर आफ्ना विगतहरू जसले मलाई आजसम्म बँचाइराखेका छन् , तिनका पृष्ठ पल्टाएर पढ्ने, हेर्ने र सम्झने अनुभुति गर्दै केही लेख्ने मौका पाएको छु ।

के लेख्दै हुनुहुन्छ ? कतै आत्मकथा त होइन ?
मन–मस्तिष्कमा आजसम्म पनि बाँचिरहेको धेरै कुराहरू छन् । ती साना–साना प्रसङ्गहरूलाई टेप्दैछु । थाहा छैन, यसले आत्मकथाको रूप लिन्छ कि या अरू नै केही !

पछिल्लो सिनेमा ‘आमा’ बाट पाएको सन्तुष्टि ?
‘आमा’ समयअनुसार मेरो अभिनययात्राको घुम्तीमा देखापरेको एउटा नयाँ मोड हो । यसबाट म धेरै आशावादी छु ।

तर बन्दाबन्दीले तपाईंको ‘मुकुन्डो’ पछिको महत्वाकाङ्क्षी सिनेमा ‘आमा’ लाई सङ्घारमै प्रहार ग-यो नि ! सामान्य भएपछि यसले फेरि सफलता पाउला ?
केही भन्न सक्दिनँ । हामी अहिले जुन परिस्थितिमा छौँ, त्यसले सम्पूर्ण मानव–मन, मस्तिष्कमा प्रहार गरेर आर्थिक, सामाजिक, शारीरिक र भावनात्मकरूपमा गहिरो चोट पुर्याएको छ । यो परिस्थिति सहज हुन दिन, हप्ता, महिना होइन वर्षाैंंवर्ष लाग्नसक्छ । त्यस्तो परिस्थितिमा कुन कुराले, के कस्तो प्राथमिकता राख्छ, कसरी अनुमान लगाउन सकिन्छ ? तर पनि ‘आमा’ चलचित्रलाई मेरोभन्दा नि हाम्रो भनेर मन पराई माया दिनुभएकोमा सबैप्रति सदा आभारी छु ।

बन्दाबन्दीले ‘आमा’ बाहेक तपाईंका भावी कति सिनेमाहरूलाई असर ग-यो ?
‘आमा’ सफलताको जुन शिखरमा पुग्नसक्थ्यो त्यसलाई केही हदसम्म त असर पार्याे नै । मेरो अर्को चलचित्र ‘कठपुतली’ को प्रदर्शनमा पनि अलि ढिलाइ हुनेभयो । यसबाहेक टेलिचलचित्र ‘दृष्टि’ को सुटिङ्मा पनि अवरोध भएको छ ।

तलका मध्ये कुनै एउटालाई छान्नुपर्दा ! जस्तो :

‘मुकुन्डो’ कि ‘आमा’ ?
‘मुकुन्डो’ चलचित्रले मलाई अन्तर्राष्ट्रियस्तरमा ‘माता’ भनेर चिनायो । ‘आमा’ ले मलाई दिदीबाट ‘आमा’ मा रूपान्तरित र स्थापित गरिदियो ।

नृत्य कि अभिनय ?
नृत्यविना म अभिनय गर्न सक्दिनँ भने अभिनयविना नृत्य गर्न सक्दिनँ । त्यसैले मेरा लागि यी दुवै विधा एकअर्काको पूरक हुन् ।

रङ्गमञ्च कि सिनेमा ?
म रङ्गमञ्चमा जन्मेर कलाकारितामा साधना गर्दै पुगेको चलचित्रक्षेत्र मेरा लागि कलाकारिता प्रस्तुतिको प्राविधिक माध्यम हो । त्यसैले मसँग मिथिला शर्मालाई कलाकर बनाई जन्माउने र चिनाउने दुवै क्षेत्रलाई छुट्ट्याउनसक्ने क्षमता छैन ।

शिक्षिका कि पत्नी ?
शिक्षिका विद्यालय र विद्यार्थीहरूका लागि मात्रै हुनुपर्ने हो । तर पत्नीमा पनि केही हदसम्म शिक्षिकाको गुण मिश्रित हुनेहुनाले (हाँसो) छुट्ट्याउन मुस्किल पर्छ ।


ताजा खबर