एमसीसी संसदमा टेबुल गर्नुपर्ने नेपाली काँग्रेसको निर्णय

नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले अमेरिकी सहयोग (एमसीसी)लाई संसदमा टेबुल गर्नुपर्ने निर्णय गरेको छ   ।  

प्रधानमन्त्री एवम् काँग्रेस संसदीय दलका नेता  एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले एमसीसीलाई तत्काल संसदमा लगेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको बैठक पछि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले जानकारी दिनुभयो ।

बैठकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा संसदमा दर्ता भएको एमसीसीका पक्षमा त्यतिवेला संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सासंदहरुले एमसीसीको पक्षमा मत प्रकट गर्ने विश्वास पनि बैठकले गरेको सांसद थापाले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली काँग्रेस एमसीसीका विषयमा सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा सकारात्मक रहेको भन्नुहुँदै आफ्नो कर्तव्यबाट विमुख नहुने बताउनुभएको सांसद थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा संसदमा दर्ता भएको एमसीसी परियोजनाका सन्दर्भमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको संसदबाट  एमसीसी  पारित गर्ने षडयन्त्र भइरहेको भन्ने अभिव्यक्ति बुझ्न नसकेको टिप्पणी गर्नु भएको पनि सांसद थापाले बताउनुभयो  ।


ताजा खबर