आइपीएलको अक्सनमा परेका यी हुन् १५ नेपाली खेलाडी

थप सामग्री : https://www.himalkhabar.com/news/127943

इन्डियन प्रिमियर लिग (आइपीएल) को सन् २०२२ को अक्सनका लागि १५ जना नेपाली खेलाडीको नाम दर्ता गरिएको छ।

आइपीएलको आगामी सिजनका लागि संसारभरका एक हजार २१४ खेलाडीले अक्सनका लागि दर्ता गरेका छन्। त्यसमा नेपालका १५ खेलाडी रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनीहरूको नाम आइपीएलको अक्सनका लागि क्यानले नाम दर्ता गराएको हो।

नेपाली खेलाडी आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशन भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्।

नेपाली कप्तान लामिछानेले यसअघि पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिसकेका छन्।

यस पटक खेलाडीको नाम दर्ताका लागि २० जनवरीसम्मको समय दिइएको थियो। त्यसमा भारतका ८९६ र विदेशका ३१८ खेलाडीको नाम दर्ता भएको बीसीसीआईले जनाएको छ।

यो वर्षको आइपीएलमा १० टीमले प्रतिस्पर्धा गर्नेछन्। लखनउ र अहमदाबादका टीम थपिएका छन्। नयाँ सिजनका लागि १२ र १३ फेब्रुअरीमा  ब्याङ्लोरमा अक्सन हुनेछ।

एउटा टीमले बढीमा २५ खेलाडी राख्न पाउनेछ। नाम दर्ता भएका एक हजार २१४ खेलाडीमध्ये २१७ खेलाडी छनोट हुनेछन्।

यसअघि खेल्दै आएका टीमले बढीमा चार खेलाडी ‘रिटेन’ गर्न पाउने व्यवस्था छ। जस अनुसार, आठ वटा पुराना र दुई नयाँ टीमले ३३ खेलाडी छनोट गरिसकेका छन्। बाँकी खेलाडीका लागि अक्सन हुनेछ।

नेपालसँगै एसोसिएट देशमध्ये अमेरिकाबाट १४, नामिबियाबाट तीन, ओमनबाट तीन, भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएईबाट एक–एक खेलाडी अक्सनका लागि दर्ता भएका छन्।

यसै गरी अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८ र वेस्ट इन्डिजबाट ४१ खेलाडीको नाम दर्ता भएको छ।

अहिलेसम्म चेन्नेइ सुपर किंग्सले रविन्द्र जडेजालाई १६ करोड, एमएस धोनीलाई १२ करोड, मोइन अलीलाई ८ करोड र रुतुराज गैक्वाडलाई ६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ।

यस्तै, दिल्ली क्यापिट्ल्सले रिसब पन्तलाई १६ करोड, अक्षर पटेललाई ९ करोड, पृथ्वी सलाई साढे ७ करोड र अंरिज नोर्जेलाई साढे ६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ। कलकत्ता नाइट राइडर्सले आन्द्रे रशेललाई १२ करोड, वरुण चक्रवर्तीलाई ८ करोड, वेंटेस अय्यरलाई ८ करोड र सुनिल नारिनेलाई ६ करोड भारतीय रुपैयाँमा खरीद गरेको छ।

त्यस्तै, मुम्बई इन्डियन्सले रोहित शर्मालाई १६ करोड, जस्प्रित बुमराहलाई १२ करोड, सूर्यकुमार यादवलाई ८ करोड र किरोन पोलार्डलाई ६ करोड, पञ्जाब किंग्सले मयंक अग्रवाललाई १२ करोड र अर्षदीप सिंहलाई ४ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको छ।

राजस्थान रोयल्सले सन्जु सामसनलाई १४ करोड, जोस बटलरलाई १० करोड र यशस्वी जैसवाललाई ४ करोड भारतीय रुपैयाँमा खरीद गरेको छ।

यससँगै रोयल च्यालेन्जर्स ब्यांग्लोरले विराट कोह्लीलाई १५ करोड, ग्लेन म्याक्सवेललाई ११ र मोह्मद सिरजलाई ७ करोड तथा सनराईज हैदरावादले क्यान विलियमसनलाई १४ करोड, अब्दुल समदलाई ४ करोड र उम्रान मलिकलाई ४ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ।

नयाँ टीम अहमदाबादले हार्दिक पाण्ड्यालाई १५ करोड, रसिद खानलाई १५ करोड र शुभमन गिललाई ८ करोड तथा लखनउले केएल राहुललाई १७ करोड, मार्कस स्टोनिसलाई ९ करोड २० लाख र रवि विस्नोइलाई ४ करोड भारतीय रुपैयाँमा खरीद गरेको छ।


ताजा खबर