सिनेमा हलहरु पुनः बन्द गर्ने सरकारको निर्णय

कोरोना महामारी रोकथामका लागि नेपाल सरकारले सिनेमा हलहरु पुनः बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म हलहरु सञ्चालन गर्न नपाउने बताएका हुन् । सरकारले दोहोरी साँझ, क्लब, पब, हेल्थ क्लब, जिमखाना लगायत पनि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाका कारण यसअघि दुई पटक हलहरु बन्द भइसकेका छन् । पहिलो चरणको महामारीमा करीब ९ महिना बन्द भएका हलहरु तीन महिना खुलेपछि फेरि सरकारले बन्द गर्ने निर्णय गरेको थियो । दोस्रो पटक करीब ५ महिना बन्द भएर यसपालीको दशैंबाट हलहरु खुले । कोरोनाको तेस्रो लहर फैलिएसँगै सरकारले फेरि हलहरु बन्द गर्ने निर्णय गरेपछि चलचित्र क्षेत्रमा निराशा छाएको छ ।

माघ १५ गतेसम्म हलहरु बन्द गर्ने सरकारको निर्णयले सबैभन्दा ठूलो मार चलचित्र ‘चपली हाइट ३’ लाई परेको छ । यो चलचित्र शुक्रवारबाट प्रदर्शन भइरहेको छ । प्रदर्शनको तीन दिनमै हलहरु बन्द हुने भएपछि निर्मातालाई आर्थिक रुपमा ठूलो क्षति भएको छ । त्यस्तै, माघ १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को अब रिलिज रोकिने भएको छ ।


ताजा खबर