देशभर चिसो बढ्यो : काठमाडौँको न्यूनतम ५.४ डिग्री

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रवार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । 

न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ । 


ताजा खबर