‘निर्वाचनमा लड्न नेकपा एमाले एक्लै सक्षम छ’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो । 

“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरू फुटाएको आरोप लगाउँदै एमालेलाई सिद्ध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताउनुभयो । 

“सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उहाँले भन्नुभयो, “तर नेपाली काँग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरू दल काँग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।”

सो अवसरमा अध्यक्ष ओलीले नेपाल संवत्को क्यालेन्डर समेत सार्वजनिक गर्नुभयो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्‍याइरहेको बताउनुभयो । उहाँले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्ष भन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो ।  

महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताउनुभयो । –रासस


ताजा खबर