घटेको विद्युत् महसुल लागू : २० युनिट निःशुल्क

गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी गत कार्तिक १० गते सार्वजनिक गरिएको नयाँ महसुल दर बुधवारबाट लागू भएको छ ।

विद्युत् नियमन आयोगले नयाँ महसुल अनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको हकमा विद्युत् महसुल निःशुल्क गरेको छ । यस्तै न्यूनतम शुल्क मासिक ३० रुपैयाँ मात्रै तोकिएको छ ।

आयोगले विद्युत् उपभोग बढाउनका लागि मूल्य निर्धारण गरेको हो । विद्युतको उचित मूल्य सुनिश्चित गर्न महसुल दर औसत २.८४ प्रतिशतले घटाइएको आयोगले जनाएको छ ।

नयाँ महसुल दरअनुसार, सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ तोकेको छ ।

सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।

सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्ताको महसुल दरको हकमा साबिकको दरमा प्रतियुनिट ५० पैसा घटाई  प्रतियुनिट ९.५० रुपैयाँ कायम गरिएको छ ।

सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताले प्रति युनिट १ रुपैयाँ घटाई प्रतियुनिट ११ रुपैयाँ तिर्नु पर्ने गरी महसुल दर कायम गरिएको छ ।

मुलुकमा हाल विद्युत् ग्राहक सङ्ख्या ४९ लाख ८९ हजार ४९४ रहेको छ । जसमा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको सङ्ख्या १९ लाख ८६ हजार ५०७ छ ।


ताजा खबर