अष्ट्रेलिया आइसीसी टी-ट्‍वान्टी विश्वकपको फाइनलमा

आइसीसी टी-ट्‍वान्टी विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको छ ।

गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्‍वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन ।

दुबई इन्टनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर महम्मद रिजवानले सर्वाधिक ६७ रन र फखर जमानले अविजित ५५ रनको पारी खेलेका थिए ।

जितका लागि १७७ रनको बलियो लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै एक ओभर अगाडि नै जीत आफ्नो पक्षमा बनाएको हो ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ४९ रन बनाएका थिए भने म्याथु वाइडले १७ बलमा ४१ रनको अविजित पारी खेल्दै अष्ट्रेलियालाई जीत दिलाएका थिए ।

अष्ट्रेलिया दोस्रोपटक टी-ट्‍वान्टी विश्वकपको फाइनलमा पुगेको हो । यसअघि अष्ट्रेलिया सन् २०१० को फाइनलमा इङ्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।

अब अष्ट्रेलियाले फाइनल खेल न्युजिल्याण्डसँग खेल्नेछ । यी दुवै देशका लागि टी-ट्‍वान्टी विश्वकपको उपाधी भने पहिलो हुनेछ । फाइनल खेल आउँदो आइतबार दुबई इन्टरनेशनल स्टेडियममा साँझ ७.४५ बजेबाट खेलिने कार्यक्रम रहेको छ । –एआइएन


ताजा खबर