वाणिज्य बैङ्कहरूद्वारा बोनस शेयर र नगद लाभांश घोषणा

अघिल्लो आर्थिक वर्ष २०७७-०७८ को नाफाबाट १५ वाणिज्य बैङ्कहरूले बोनस शेयर र नगद लाभांश घोषणा गरेका छन् । 

सिभिल बैङ्क, कृषि विकास बैङ्क, लक्ष्मी बैङ्क, प्राइम बैङ्क, एनसिसी बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क, एसबिआई बैङ्क, सनाइज बैङ्क, मेगा बैङ्क सेन्चुरी बैङ्कले लाभांश घोषणा गर्न बाँकी छ । 

कोभिड सङ्क्रमणसँगै लकडाउन भएपछि गत वर्षबाट नेपाल राष्ट्र बैङ्कले नगद लाभांशमा कडाइ गरेपछि यस वर्ष बोनस शेयरको अनुपात सबै बैङ्कले बढाएका छन् । त्यही भएर लाभांश दिने बैङ्कहरूले बोनस सेयरलाई उच्च प्राथमिकतामा राख्ने गरेका छन् । 

हालसम्म नबिल बैङ्क र हिमालयन बैङ्कले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको छन् । 

नविल बैङ्कले अघिल्लो आर्थिक वर्षको नाफाबाट ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैङ्कसँग मर्जको तयारीमा रहेको हिमालयन बैङ्कले २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

नबिल बैङ्कले ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको हो । 

बैङ्कले आर्थिक वर्ष २०७६/७७ मा पनि ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

कुमारी बैङ्कले सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैङ्कले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी जम्मा ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सानिमा बैङ्कले कुल १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । 

त्यस्तै, सिटिजन बैङ्कले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

एनआइसी एसिया बैङ्कले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

ग्लोबल आइएमई बैङ्कले कुल १३ दशमलव ५० प्रतिशतमा  १० प्रतिशत बोनस शेयर र  ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।  

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले कुल १३ दशमलव ६ प्रतिशत लाभांशमा  १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश गरेको छ ।  –रासस


ताजा खबर