बेलायत जस्तो मित्र पाउनु गौरवको विषय : प्रधानमन्त्री

 प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य(बेलायत)को संसदले विभिन्न समयमा नेपालप्रति देखाएको सदभाव र ऐक्यबद्धताले दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताउनुभएको छ ।

बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन लण्डन पुग्नु भएका प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार आयोजना गरेको स्वागत समारोहमा नेपालको विकासमा बेलायत र बेलायती जनताले देखाएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

कोभिडको समयमा बेलायतका सांसदहरुले नेपालको पक्षमा देखाउनु भएको ऐक्यबद्धता र सदभावप्रति कृतज्ञता प्रकट गर्दै प्रधानमन्त्री देउवाले बेलायत जस्तो मित्र पाउनु गौरवको कुरा रहेको बताउनुभयो । नेपाल र बेलायत पुरानो मित्र रहको चर्चा गर्दै प्रधानमन्त्री देउवाले सन १८१६ देखि स्थापित यो मित्रता आपसी विश्वास,सदभावमा आधारित रहेको उल्लेख गर्नुभयो । यस सम्बन्धमा ब्रिटिस गोर्खाको सैन्य सेवा पनि जोडिएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल र बेलायतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको संसदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानमन्त्री देउवाले एपीपीजीको भूमिकाको प्रसंशा गर्नुभयो । नेपालमा पनि नेपाल ब्रिटेन पार्लियामेन्ट फोरम रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै समूहले दुई संसदबीचको सम्बन्धलाई बढाउन महत्पपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसका लागि दुवै देशका संसदहरुको समूहले निरन्तर र नियमित भ्रमण गर्नुपर्छ,प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकार संविधानको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै संविधानको भावनाअनुसार अघि बढने बताउनुभयो । उहाँले नेपालको वर्तमान संविधानले कानूनको शासन,आवधिक निर्वाचन,स्वतन्त्र न्यायपालिका,शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गरेको पनि जानकारी गराउनुभयो ।

एपीपीजी एनका अध्यक्ष तथा बेलायती संसद हाउस अफ कमन्सका सदस्य बीरेन्द्र शर्माले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्नुभयो । बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा हाउस अफ लर्डसका सदस्य लर्ड शेखले कोभिडको समयमा बेलायतको संसदमा आफूहरुले कुरा राखेको बताउँदै भूकम्पको समयमा बेलायतले गरेको सहयोगको स्मरण गर्नुभयो ।

उहाँले बेलायतको सैन्य सेवा गोर्खाले पुर्याएको योगदानको चर्चा गर्दै फोरममार्फत दुई देशबीच द्धिपक्षीय लगानी तथा व्यापार प्रर्वद्धन गर्ने कार्य भएको जानकारी दिनुभयो । यसैगरी पूर्व रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले गोर्खा सैनिकले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहाय यादव नेपाल र बेलायतका उच्च पदाधिकारी,उद्योगपति तथा व्यापारीहरुको सहभागिता रहेको थियो ।


ताजा खबर