वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आज लण्डनतर्फ प्रस्थान गर्नुभएको छ ।

आगामी नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) अन्तरगत वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतार एयरवेजयबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अन्तराष्ट्रिय विमानस्थलमा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरु र नेपाली काग्रेंसका नेताहरुले उहाँको विदाई गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्कटल्याण्डमा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री देउवा आगामी सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनु हुनेछ ।

प्रधानमन्त्री देउवाले वल्र्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सोही दिन साँझ देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यतालिका छ ।

प्रधानमन्त्री देउवा र समकक्षी जोनसनबीच सोही समारोहमा द्विपक्षीय भेटवार्ता हुने तय गरिएको छ ।प्रधानमन्त्री देउवाले आगामी बुधबार स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनमा हुने भेलालाई सम्बोधन गर्नुहुनेछ ।

कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका उच्च अधिकारीहरू सहभागी रहनुभएको छ । –रासस


ताजा खबर