एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै छ । सोमबार नियमति उडानमार्फत अमेरिकाबाट नेपाल आइपुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

यो खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय सरकारले गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभयो ।

‘खोप एक लाख डोजमात्र छ। धेरैजनालाई दिन सम्भव छैन। कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो। त्यही निर्णय गरेका छौं’, दाहालले भनुभयो । कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। नेपालका मुख्य २४ वटा अस्पतालवाट यो खोप दिइने खोप शाखाले जनाएको छ। –रासस


ताजा खबर