निन्द्रामा घुर्ने मस्त, सँगैसुत्नेलाई कष्ट : चिकित्सक भन्छन् उपचार सम्भव छ

घुर्ने मान्छेसँगै एकै कोठामा सुत्नसक्ने मान्छेलाई बहादुर नै मान्नुपर्छ । घुर्नेलाई निद्राको आनन्द तर सँगै पल्टिएकालाई कुनै थोत्रो टेम्पोको सवारी गर्दाको जस्तो पीडा । कतिपय दम्पतीले घुर्ने समस्या बेहोर्नु परिरहेको हुन्छ । साथीभाइमा यो समस्या नहुने कुरै भएन । गुपचुप राखिने, सहने र प्रसङ्ग उठ्दा मात्र कुरा गरिने तर उपचार नखोजिने समस्या हो निद्रामा घुर्नु ।

पति वा पत्नीले सुत्ने बेला घुर्दा प्रायः अर्कोको निद्रा खल्बलिने गर्छ । प्रायः घुर्ने व्यक्तिलाई आफूले घुरेको चालै हुँदैन । यसले स्वास्थ्यमा समस्या आइपर्ने खतरा अनुसन्धानहरूबाट स्पष्ट भइसकेको छ तर घुर्ने व्यक्तिले आफ्नो स्वास्थ्य बिगार्छ नै सँगै सुतेको व्यक्तिलाई पनि खतरामा पार्ने गर्छ ।

महिला स्वास्थ्यको कुरा गर्दा गर्भावस्थामा घुर्न सुरु गर्ने महिलालाई प्रिइक्लेम्पसिया र उच्च रक्तचाप हुने खतरा गर्छ ।
अमेरिकाको मिचिगन विश्वविद्यालयका वैज्ञानिकले केही वर्षअघि आफ्नो अनुसन्धानको आधारमा गर्भावस्थामा यदि कुनै महिलाले घुर्न सुरु गर्छिन् भने उनलाई गर्भकालीन उच्च रक्तचाप र प्रिइक्लेम्पसियाको खतरा बढ्ने जानकारी अमेरिकन जर्नल अफ अब्सटेट्रिक्स एन्ड गाइनेकोलोजीमा दिएका थिए ।

सन् २०११ मा भावी आमाको रक्तधमनीमा सेता रक्तकोषहरूको घुसपैठसँग गर्भावस्थामा देखिने उच्च  रक्तचापको सम्बन्ध हुने विश्लेषण गरिएको थियो ।

यसैगरी धूमपान गर्ने र उसको नजिक बस्ने दुवै जनाको स्वास्थ्यमा जसरी विभिन्न जोखिम बढ्छ त्यसरी नै निद्रामा घुर्ने र सँगै सुत्ने व्यक्ति समानान्तर खतरामा रहन्छन् ।

इटालीको नेपल्समा रहेको फेडेरिको द्वितीय विश्वविद्यालयले एक दशकसम्म विश्वका विभिन्न स्थानका १३ लाखभन्दा बढी मानिसमा गरेको अनुसन्धानको आधारमा निद्रामा घुर्ने र ऊसँगै सुत्ने व्यक्तिको स्वास्थ्यमा त्यसको प्रभाव पर्ने निष्कर्ष निकालेको थियो ।

सन् २०१० मा गरिएको एक अनुसन्धानमा मृत्युमा छोटो अवधिको निद्राको भूमिका बारेमा महìवपूर्ण खोज गरिएको थियो ।
त्यसको निष्कर्षअनुसार राति छ घण्टाभन्दा कम निदाउने व्यक्ति १४ वर्षभित्र मर्ने सम्भावना चार गुणाले बढ्छ । यति मात्र होइन अपर्याप्त निद्राले डिप्रेसन, व्याकुलता, आलस्यता, स्मरण ह्रासलगायतका समस्या पनि निम्त्याउँछ ।
शरीरमा इन्फ्लामेसन भएर व्यक्ति निदाएको बेला घुर्ने बताइएको छ । एलर्जी, स्वास्थ्य विकार र विशेष आहाराको कारणले इन्फ्लामेसन भएर पनि मानिस निद्रामा घुर्छ । विशेषगरी एलर्जीले गर्दा व्यक्ति निदाएको बेला घुर्ने गर्छ । कुकुर, फूलको परागकण वा कुनै विशेष वस्तुले एलर्जी उत्पन्न हुन्छ । एलर्जीको अवस्थामा सेता रक्तकोष नाकमा अधिक सक्रिय बन्छन् र इन्फ्लामेसन उत्पन्न भई मांसपेशी कमजोर पार्छन् ।

केही अनुसन्धानले त घुर्ने व्यक्तिलाई गीत गाउने सल्लाह दिएका छन् ।
शरीरको चिकित्सा अवस्था स्लिप अप्नियाले समेत मानिस निदाएका बेला घुर्छ । किनभने स्लिप अप्नियामा घाँटीमा समस्या उत्पन्न भएको हुन्छ र निदाएका बेला सास एक्कासि रोकिने र सुरु हुने गर्छ । स्लिप अप्निया भएको मानिस निदाएको बेला जोरसँग घुर्छ र कहिलेकाहीँ छाती च्यापिएको महसुस गरेर तर्सेर जाग्ने पनि गर्छ ।

त्यसो भए मस्तसँग आफु कसरी निदाउने र अरूलाई गहिरो निद्रामा डुब्न दिने ? यो त सबैले बुझेकै कुरा हो ‘निद्रामा नियमित गडबडीले रोग’ निम्त्याउँछ । राम्रोसँग निद्रा लागेन भने शरीरमा हर्मोनको सन्तुलन र शरीरको जैविक घडी बिग्रन्छ ।
जस कारण मानिसमा चाँडै बुढ्यौली आउने, मुटु रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर, अस्टियोअर्थराइटिस जस्ता खतरनाक समस्याले टाउको उठाउने मौका पाउँछन् ।

राम्रो निद्राका लागि उपाय

पोषणमा ध्यान
अधिक गुलिया वस्तु खाएमा रगतमा ग्लुकोजको मात्रा अनियमित भएर निद्रामा समस्या आउँछ । फाइटोन्युट्रियन्ट पाइने तरकारी र फलफूल खानु राम्रो हुन्छ । शरीरलाई उत्तेजित पार्ने कफी, चकलेट जस्ता वस्तु ओछ्यानमा जानु छ घण्टा पहिले खानुहुँदैन ।

सुत्ने र उठ्ने समय निर्धारण
सधैँ निश्चित समयमा सुत्ने र उठ्ने गरेमा शरीरको जैविक घडीले राम्रोसँग काम गर्छ । यस चक्रमा बढीमा ३० मिनेटसम्म फरक पार्न सकिन्छ । विभिन्न अनुसन्धानबाट सातदेखि नौ घण्टा सुतेमा शरीर स्वस्थ रहन मद्दत पुग्ने तर मध्यरातपछि दुई घण्टा राम्रोसँग सुत्नै पर्ने स्पष्ट पारिएको छ ।

आफ्नै ओछ्यानमा सुत्ने
आफ्नै ओछ्यानमा सुत्ने बानीमा शरीर अभ्यस्त भएको हुन्छ ।

अँध्यारो
प्रकाशको अभावमा शरीरको पाइनियल ग्रन्थीले मेलाटोनिन उत्पादन गर्दछ । वैज्ञानिकको भनाइमा मेलाटोनिनद्वारा नै शरीरमा निदाउने र जाग्ने प्रक्रिया नियन्त्रित हुने गर्छ । मानव मस्तिष्कको पाइनियल ग्रन्थीले यस हर्मोनको उत्पादन गर्छ । अँध्यारोमा सुतेमा मात्र पाइनियल ग्रन्थीले राम्रोसँग मेलाटोनिन उत्पादन गर्नसक्छ । शरीरले निदाएका बेलामा आन्तरिक मर्मत र सुधार गर्ने भएकाले अँध्यारोमा सुत्नु जरुरी छ । विशेषगरी निलो प्रकाशमा त सुत्नै हुँदैन ।

पर्याप्त पानी पिउने
राम्रो निद्राका लागि शरीरमा पानीको पर्याप्त मात्रा जरुरी छ तर राति बारम्बार पिसाबका लागि उठ्नुपर्ने गरी पानी पिउनु हुँदैन ।
कोठा चिसो राख्नेः निदाएपछि मस्तिष्कको ताप कम हुन खोज्छ । कोठा धेरै चिसो वा तातो भएमा शरीरमा तनाव बढ्छ ।

मन हल्का पार्ने
धेरैजसो मान्छे राति सुत्ने बेला डराउने, धेरै सोच्ने, व्याकुल हुने गर्छन् । राम्रो निद्राका लागि मन खुसी पार्ने खालका जुनसुकै कल्पना गर्दा राम्रो हुन्छ ।

बिशेषज्ञ चिकित्सकको राय के छ ?

ॐ अस्पतालका बरिष्ठ छातिरोग तथा निन्द्रा  बिशेषज्ञ डा. सुबोध सागर ढकालसँग हामीले यस बिषयमा कुराकानी गरेका थियौं । उहाँले आम नेपालीहरुमा खासगरी मोटा र बढी तौल भएका मानिसहरुमा घुर्ने समस्या अधिकांस रुपमा भेटिने गरेको र आफ्नो ओपिडिमा धेरै बिरामीहरु यो समस्या लिएर आउने गरेको बताउनुभयो । समयमा उपचार थालेमा यो समस्याबाट बाहिर निस्कन सकिन्छ केही औषधि र केही उपायहरु भने अपनाउनुपर्ने हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको जिवनशैली परिवर्तन गरेर र खानपानमा समेत ध्यान दिएर तौललाई नियन्त्रण गरेर यसबाट निजात पाउन सकिने उहाँको भनाई छ ।

स्वास प्रश्वास समबन्धि संकमणहरु वा अन्य कुनै समस्याहरु छन् भने तिनको समयमै उपचार गराइहा्नुपर्छ । कहपिलेकाँही त्यस्ता संक्रमणको जटिल अवस्थामा पनि स्वास प्रशवासको मार्ग साँघुरो भएर यसरी घुर्ने समस्या देखिन सक्छ ।

कोही घुर्छन्भने आत्तिहाल्नुभने पर्दैन बरु समयमै छाति, स्वास प्रवास तथा निन्द्रा बिशेषज्ञसँग परामर्श गरी समयमै उपचार गरे यसबाट मुक्त हुन सकिने उहाँको राय छ ।

सफल नेपाल डेस्क 

ताजा खबर