भैरहवा र पोखराको खेल नतिजाविहीन

काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजविचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । जसका कारण दुवै टिमले एक एक अङ्क बाढेका छन् । 

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा मात्र १२ रन बनाउँदा महत्त्वपूर्ण ५ विकेट गुमाउन पुग्यो । उसका ओपनर रिचार्ड लेभी खाता खोल्न नपाउँदै आउट भएपछि पोखराले एक रन हुँदा पहिलो विकेट गुमायो । 

त्यसपछि उसको स्कोर नौ रन हुँदा दोस्रो विकेट गुम्यो । उसका विपिन रावल ६ रनमा आउट भए । त्यसको लगत्तै कप्तान विनोद भण्डारी पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किएपछि पोखराले नौ रनमा तीन विकेट खेर फाल्यो ।  पोखराको स्कोर १२ रन हुँदा लगातार दुई विकेट गुमायो । सुनिल धमला व्यक्तिगत एक रनमा आउट भए भने लोकेश बमले खाता खोल्न सकेनन् । 

पोखराको पारीलाई सम्हाल्ने प्रयास गरिरहेका असेला गुनरत्ने व्यक्तिगत २३ रनमा आउट भएपछि टिम झन् दबाबमा पर्‍यो । उसका लागि विवेक यादव १६ रनमा खेलिरहेका थिए । तर, वर्षाले उनको पारी पनि त्यतिमा सीमित भयो । 

पोखराको स्कोर १० ओभर एक बलमा सात विकेटको अवस्थामा ६५ रन हुँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो । तर वर्षाले खेल सुचारु हुन नसक्दा खेल नतिजा विहीन भयो । जसका कारण दुवै टिमले एक एक अङ्क बाँडे । 

बलिङमा युवा खेलाडी दुर्गेश गुप्ताले तीन विकेट लिए । यस्तै तुलबहादुर थापा, अभिनाश बोहरा र धमिका प्रसादले एक एक विकेट लिए । 

वर्षाका कारण भैरहवालाई भने घाटा भएको छ । यो खेलमा उसले सहज जितको अपेक्षा गरेको थियो । पोखरालाई एक अङ्कले पनि राहत नै भएको छ ।

पहिलो खेलमा  चितवन टाइगर्सले जितका साथ प्रतियोगितामा सुरुवात गरेको छ । उसले आफ्नो पहिलो खेलमा विराटनगर वारियर्सलाई दुई विकेटले हरायो । 

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । उसका तीन खेलाडीले मात्र दोस्रो अङ्क जोड्न सके ।

विराटनगरले नौ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि अनिल शाह र सिकन्दर राजाले ६१ रनको साझेदारी गरे । तर अनिल शाह ३२ रनमा आउट भएपछि विराटनगरले ७० रनमा चौथो विकेट गुमायो । 

विराटनगरको पारीलाई सम्हालेका सिकन्दर राजाले ६७ रन बनाए । सौरभ खनालले ३० रनको योगदान गरे । बलिङमा सोमपाल कामी, कमल ऐरी, करिम जन्नत, सागर ढकालले दुई दुई विकेट लिए । 

जवाफमा  चितवनले २० ओभर ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । 

चितवनले पनि सुरुवात भने राम्रो गर्न सकेन । उसका ओपनर मोहम्मद सहजाद व्यक्तिगत एक रनमा आउट भएपछि चितवनले ११ रनमा पहिलो विकेट गुमायो । 

त्यसपछि उसको स्कोर २३ रन हुँदा दोस्रो विकेट झर्‍यो । उसका इशान पाण्डे १० रनमा आउट भए । त्यसपछि भीम सार्की पनि व्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि चितवनले ५२ रनमा नै तेस्रो विकेट गुमायो । उसका लागि दिलीप नाथले २३ रन बनाए भने करिम जन्नतले १९ रनको योगदान गरे । यस्तै कप्तान सोमपाल कामीले नौ रनको योगदान गरे । 

चितवनले एक सय ४२ रन बनाउँदा ६ विकेट खेर फालेको थियो । अन्तिम ओभरमा चितवनलाई जितका लागि ५ रन आवश्यक थियो । तर अन्तिममा राजेश पुलामीले चौका प्रहार गर्दै टिमलाई पहिलो जित दिलाए । 

बलिङमा विराटनगरका सिकन्दर राजा र करण केसीले दुई दुई विकेट लिए । यस्तै प्रतिश जिसी र रायन पठानले एक एक विकेट हात पारे । 


ताजा खबर