श्रम स्वीकृति विना काम गर्न जाने प्रवृत्ति रोक्न निर्देशन

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति विना विदेशमा काम गर्न जाने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको सिंहदरबारमा बसेको बैठकले पर्यटक भिसामा विदेश जाने र गन्तव्यमा पुगेपछि श्रम क्षेत्रमा लाग्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न नीतिगत तथा प्रबन्धनात्मक व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

बैठकमा समितिका सभापति विमल प्रसाद श्रीवास्तवले गैर कानुनी रुपमा वैदेशिक रोजगारीमा जाने क्रम रोक्न कानुन संशोधन तथा निर्माण गर्नुपर्ने भए त्यसको प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभयो ।

यस्तै, बैठकले भाषा परीक्षा तथा अन्य प्रक्रिया पुरा गरेर रोजगारीका लागि दक्षिण कोरिया जाने प्रतीक्षामा रहेका युवालाई छिटोभन्दा छिटो कोरिया पठाउने प्रक्रिया मिलाउन समेत निर्देशन दिएको छ । 

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कानुनी प्रक्रिया पुरा नगरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विदेशमा अलपत्र पर्ने तथा विभिन्न प्रकारका शोषणमा पर्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । 

सचिव गौतमले कानुनी प्रक्रिया नमिलेका कारण दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउन, बिमा रकम तथा क्षतिपूर्ति भराउन तथा विभिन्न कारणबाट विदेशको जेलमा परेका व्यक्तिको उद्धार गर्न समेत कठिनाइ भइरहेको बताउनुभयो । 

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पछिल्लो ६ महिनाको अवधिमा नेपालीको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स् (युएई) गएका करिब ६० हजार नेपाली मध्ये २७ हजार ४ सयभन्दा बढी पर्यटक भिसामा गएको तथ्याङ्कले देखाएको उल्लेख गर्नुहुँदै उनीहरू मध्ये अधिकांशले त्यहाँ गैर कानुनी रूपमा काम गरिरहेको हुनसक्ने बताउनुभयो ।


ताजा खबर