प्रिन्सेस गार्डेनमा भिसी कुलबीर थापाको सालिक अनावरण

बेलायती सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलबीर थापाको सालिक शनिबार अनावरण गरिएको छ ।


प्रथम विश्वयुद्धमा देखाएको अदम्य साहसका कारण पदक पाउनु भएका गोर्खा राइफलम्यान थापाले ब्रिटिश सैनिकलाई बोकेको पूर्णकदको शालिक अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अनावरण गरियो ।

बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी तथा नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतले संयुतm रुपमा शालिक अनावरण गर्नु भएको थियो ।


सो क्रममा राज्यमन्त्री डोचेर्टीले शालिकले साहस र बहादुरीका साथै गोर्खा सैनिकको सैन्य भावलाई चित्रित गरेको बताउनुभयो । उहाँले नेपालीले सैन्य सेवामा मात्र नभई नागरिक सेवामा पनि साहसिक काम गरि रहेकोमा धन्यवाद दिनुभयो । लेफ्टिनेन्ट जनरल सिबीले गोर्खा सैनिक र ब्रिटीस सेनाबीचको सम्बन्धलाई शालिकले प्रष्ट रुपमा चित्रण गरेको बताउँदै दुई सय वर्षभन्दा बढीदेखिको यस सम्बन्धको छुट्टै महत्व रहेको बताउनुभयो ।
ग्रेटर रसमोर नेपलिज कम्यूनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरि शालिक बनाइएको हो । कम्यूनिटीका अध्यक्ष रामधन राईले गोर्खा समुदायले बेलायतलाई गरेको सहयोग र सेवाको भाव र सम्बन्धलाई देखाउने गरी शालिक निर्माण गरिएको बताउनुभयो । उहाँले शालिक निर्माणका लागि करिब एक लाख ८० हजार पाउण्ड सँकलन भएको जानकारी दिदै कोरोनाका कारण निर्माणमा केही ढिलाई भएको बताउनुभयो । अध्यक्ष राइले रसमोर बरो काउन्सिलले वर्षेनि एक पाउण्डमा ९९ वर्षको लिज दिएको बताउँदै शालिक मर्मत सम्भार पनि काउन्सिलले गर्ने जानकारी दिनुभयो । शालिक बेलायतकी कलाकार एमी गुडम्यानले निर्माण गर्नु भएको हो ।

वेलिङटन काउन्सिलर जीव बेल्वासेले शालिक निर्माणले यहाँका स्थानीय र नेपाली समुदायको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो । अल्डरसट क्षेत्रमा भूतपूर्व गोर्खाको उल्लेख बसोबास रहेको छ ।


ताजा खबर