एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ ।

रावलले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा बुझाउनुभएको छ । रावल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका भरतकुमार स्वाँरलाई ७ हजार १ सय ६४ मतले हराउँदै निर्वाचित हुनुभएको थियो ।

राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्साका कारण आफूले राजीनामा दिएको रावलको भनाइ छ । ‘अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि(पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी(निरंकुश किसिमको काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ ।

यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम् प्रयत्न गरेँ,’ उहाँको भनाइ छ ।

रावलले अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

‘पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,’ रावलको राजीनामा पत्रमा लेखिएको छ ।


ताजा खबर