दक्षिण कोरिया ईपीएस अन्तर्गत नेपाली श्रमिक लैजान सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।

कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिएको छ तर कोरिया प्रवेश गर्ने नेपालीले निश्चित मापदण्ड भने पालना गर्नुपर्ने सर्त उसले राखेको उहाँको भनाइ छ । महानिर्देशक दवाडीका अनुसार एचआरडीको पहिलो सर्त नियमित उडान खुला हुनुपर्नेछ ।
ईपीएसका सबै प्रक्रिया पूरा गरेर तयारी अवस्थामा रहेका श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने पनि सर्त राखेको छ । महानिर्देशक दवाडीले होटल क्वारेन्टाइनमा बसेको खर्च भने श्रमिक आफैँले बेहोर्नुपर्ने भनिएको जानकारी दिनुभयो ।

यो निर्णय विभागले मात्रै गर्न नसक्ने भएकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरेर टुङ्गोमा पुग्न मन्त्रिपरिषद्को निर्णय नै पर्खिनुपर्ने उहाँको भनाइ छ ।

कोरोना महामारीका कारण गत वर्षदेखि नै ईपीएसको सबै प्रक्रिया पूरा गरी जाने तयारीमा रहेका आठ हजार बढी नेपाली श्रमिक दक्षिण कोरिया रोजगारीमा जान पाएका छैनन् । जस कारण कोरियाबाट रोजगार सम्झौता पत्र आइसकेका आठ हजार र तीन हजार बिदामा आएकाहरू गत वर्षदेखि नै रोकिएका छन् । –रासस


ताजा खबर