इटाली र स्पेन यूरो कपको सेमिफाइनलमा

यूरो कपको गएराति भएका खेलमा बेल्जियमलाई हराउँदै इटाली र स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा इटालीले बेल्जियमलाई २–१ गोलले पराजित गरेको हो। इटालीका लागि निकोलो बारेला र लोरेन्जो इन्सिग्नेले एक–एक गोल गरेका थिए। त्यस्तै, बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए।

खेलको पहिलो हाफमा तीन गोल भए भने दोस्रो हाफ गोलरहित बन्यो। खेलको ३१औं मिनेटमा बारेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। त्यसको १३ मिनेटपछि इटालीका लागि इन्सिग्नेले अर्को गोल थपे।

पहिलो हाफको इन्जुरी समयमा लुकाकुले बेल्जियमका लागि एक गोल गरे। दोस्रो हाफमा कुनै टीमले गोल गर्न नसकेपछि इटाली २–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघि भएको पहिलो क्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। पेनाल्टीमा स्पेनले ३–१ ले पराजित गर्‍यो।

स्पेनका लागि मिकेल ओयासाबेल, जेराड मोरिनो र ड्यानी ओल्मोले गोल गरे। स्विट्जरल्यान्डका भने मारियो गाब्रानोभिचले मात्र गोल गर्न सके।

स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेको थियो भने रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमरले रोकेको थिए। स्विट्जरल्यान्डका रुवेन भार्गासको प्रहार पोस्टमाथिबाट बाहिरियो भने फाबियन सेसार र म्यानुअल एकान्जीको प्रहार स्पनेका किपर सिमोनले रोकेका थिए।

यसअघि खेलको आठाैं मिनेटमै स्पेनले अग्रता लिएको थियो। जुर्डी अल्बाको प्रहार रोक्ने क्रममा स्विस डिफेन्डर डेनिस साकारियाले आफ्नै पोस्टमा गोल गरेका थिए। खेलको ६७औं मिनेटमा स्विस कप्तान जद्रान सकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

आज राति ९ः४५ बजे चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्यान्ड सेमिफाइनल प्रवेशका लागि भिड्नेछन्। –रोयटर्स


ताजा खबर