यस वर्षको मनसुन आजबाट भित्रियो : एक सातामा देशभर फैलिने

यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। 

यसअघिका वर्षहरूमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद बरुण पौडेलले निर्धारित मितिभन्दा दुई दिन अघि मनसुन प्रवेश गरेको बताए। 

विभागले आज विशेष बुलेटिन प्रकाशित गरेर बंगालको खाडी आसपास विकशित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारबाट नेपालको पूर्वी भूभाग प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भएको जनाएको छ। एक-दुई दिनमा नै मनसुन देशैभरी फैलिने सम्भावना रहेको विभागले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ। 

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा धेरै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

१० जुनमा शुरू भएको मनसुन २ अक्टोबरसम्म रहनेछ। गतवर्ष १२ जुनमा मनसुन नेपाल भित्रिएको थियो। 

बिभिन्न जलवायु प्रारुपहरू (क्लाइमेट मोडेल)ले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन्। मनसुन अवधिमा एक हजार ४१२ मिलिमिटर वर्षालाई सरदर वर्षा भनिन्छ। गतवर्ष सरदरभन्दा बढी अर्थात एक हजार ६४२.१ मिलिमिटर वर्षा भएको थियो ।



ताजा खबर