नर्सहरुको सुरक्षा आजको अपरिहार्य आवश्यकता

~ उमा श्रेष्ठ

हरेक बर्ष झैं यस वर्ष पनि सचेतनाका भर्चुअल कार्यक्रमहरु गरी अन्तराष्ट्रिय नर्स दिवस मनाइयो ।

दिवसको यस बर्षको नारा “ नर्सको आवाज – स्वास्थ्य सेवाको भविष्य सुरक्षित गर्न हरेक नर्सको सुरक्षा अपरिहार्य हुन्छ स्वास्थ्यको लगानीलाई जोगाउ” भन्ने रहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीको सन्दर्भमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सार्थकता अझ थपिएको छ । स्वास्थ्य क्षेत्रको अग्रपङ्तिमा रहेर सेवा गर्ने सम्पूर्ण नर्सहरुलाई प्राथमिकतामा राखेर हामीहरुलाई आवश्यक पर्ने सुरक्षा, साथ, हौसला र स्रोत साधनले सम्पन्न बनाएर आजको अवस्थामा सुरक्षा सहितको स्तरिय स्वास्थ्य उपचार सेवा अपरिहार्य छ ।

स्वास्थ्य क्षेत्रको अग्रपंङ्तिमा काम गर्ने भएकाले नर्सहरु संक्रमणको उच्च जोखिममा भएको हुनाले सामाजिक दुरी, मास्क लगाउने, हावाको आवातजावत हुने कोठा, समूहमा नबस्ने, हात धुने र ह्याछिउँ गर्दा कुहिनाले ढाक्ने जस्ता पूर्व सावधानी अपनाई रहेका छन् । विश्व स्वास्थ्य संगठनले दिएको सुझाव अनुसार सरकारले प्रदान गर्नुभएको भ्याक्सिन कोभिड –१९ नर्सले लगाएर एक किसिमको सुरक्षा महसुस गर्न सकेका छौँ ।

तर पनि स्वरुप परिवर्तन भएर आएका नयाँ किसिमको कोभिडलाई यो प्रभावकारी छ छैन भन्ने तथ्य कुरा अनुसन्धानका क्रममा रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धीका मापदण्डहरु अनिवार्य रुपमा पालन गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।अग्रपङ्तिमा रहेर अहोरात्र खटिने नर्स शारिरिक रुपबाट थाक्छन् नै उनीहरुलाई मानसिक रुपबाट पनि उत्तिनै तनावमा रहन्छन् ।

साथमा समाजमा रहेको चेतनाको कमिको कारण हामीहरु माथि हुने विभेद र दुर्व्यवहार पनि टट्कारो रुपमा देखिएको छ । अस्पतालमा कामको लागि जाने समयमा आफ्नो जिम्मेवार बहन गर्नको लागि जादाँ घरपरिवारको असमझदारीको कारण धेरै पीडा भएको महसुस अनुभव भएका छन् तर के गर्नु एउटा नर्स भएको कारण अस्पतालमा धेरै श्वास फेर्न कठिन भएर ल्याएको विरामीको अवस्था टिठलाग्दो देखिन्छ ।

यसैकारण नर्सहरु यो मेरो जिम्मेवारी हो भनेर दिनदिनै परिवारका सदस्यहरुसँग मनमुटाव र मुकाविला गर्दै अस्पतालमा भएका सुरक्षा सामाग्रीहरु धारण गरेर विरामीको सेवा गर्न यस्तो कठिन र असहज परिस्थितिमा तयार हुन्छन् । अस्पतालमा कार्यरत रहँदा सधैँ युद्धभूमिमा लडाइ गर्ने सिपाहीजस्तै अनुभूति हुने हुँदा कतै जीवन मरणको दोसाँधमा पो पुगिन्छ कि भन्ने त्रास रहन्छ । यसैले प्राय सबै अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी (नर्स)लाई मानसकि स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।

यसैगरी घरपरिवार र आफन्तजनलाई संक्रमण सार्न सकिने सम्भावना पनि उत्तिकै रहन्छ । छोराछोरी र श्रीमान्सँग नजिकै बसेर मनका कुरा आदानप्रदान गर्न पनि अप्ठ्यारो हुन्छ । यसैकारण परिवारका सदस्यहरुले काम छाड्न बाध्य बनाएको तथ्य पनि विदितै छ । नर्सको मानसपटलमा यो दोधारको विचार विमर्शसँग लड्दा लड्दैँ आत्मबल कमजोर हुन सक्छ र जतिसुकै म गर्छु भनेर फ्लोरेन्स नाइटिङ्गेलले दिएको सपथलाई ग्रहण गरेर अगाडि बढ्नलाई हिच्किचाहट हुनसक्छ ।

फलस्वरुप मानसिक समस्याहरु आउन सक्छ । तर त्यो नर्स सफल हुन्छ जसले आफ्नो मनोबल उच्च पारेर परिवार, आफन्त र समाजबाट आएको धारणालाई थाती राखी स्वच्छ र प्रेमपूर्वक मानवीय कर्तव्य सम्झेर एउटा मृत्यु सँग लड्दै गरेको अस्वस्थ्य विरामीलाई जीवन दान दिन अगाडि सर्छ । हामी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी भएको हुनाले समाजबाट धेरै अपेक्षा राखेर अस्पतालको आइसोलेसन वार्ड लगायत आई.सि.यू वार्डको लागि धेरै सोधपुछ गर्छन् ।

तर गत सातादेखि धेरै परिवार–परिवार संक्रमित भएर जटिल अवस्था भएको कारण घरको आइसोलेसन पर्याप्त भएन र अस्पताल नै सेवा लिने घर हुन गएकोले सबै कोभिड बिरामीहरु अस्पतालमा आश्रय लिन बाध्य भए ।तर विडम्बना यस्तो भयो जतिसुकै नयाँ आइसोलेसन र आई.सि.यू वार्ड थपे पनि संक्रमित संख्याको आधारमा कम हुन गयो ।

व्यवस्थापन कमिटिलाई धेरै नै अप्ठ्यारो परिस्थिति छ एक त लकडाउनले महामारीलाई सम्याउनु छ तर उता व्यवस्थापन गर्न वस्तुको श्रोत साधन र ठाँउ उपलब्ध गर्न एउटा ठूलो चुनौती भएको छ भने अर्को अझै ठूलो चुनौती दक्ष, योग्य जनशक्तिको अभावको उत्तिकै टट्कारो छ । भएको दक्ष जनशक्तिहरु संक्रमित भएर र काम छाड्नेको संख्या पनि उत्तिकै छ ।

यसैकारण एउटा ठूलो अभाव हुँदाहुँदै पनि दिनदिनै यो समस्या बढ्दो क्रममा छ । अक्सिजन अभाव लगायतका समस्याले पनि थप तनाब थपेको छ । यीनै कथा व्यथा सँगै हामी एकसाथ रहेर कोरोनाको सामना गर्दै सबै समर्पित नर्स दिदिबहिनीको समस्या बुझ्दै अन्तर्राष्ट्रिय नर्सिङ दिवसको भित्री हृदयबाट शुभकामना र धन्यवाद दिन चाहन्छु ।

सलाम हामी सबै परिचारिका दिदिबहिनीहरुलाई सबैलाई आशिस मिलोस् ।

लेखिका श्रेष्ठ ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरकी नर्सिङ डाइरेक्टर हुनुहुन्छ ।


ताजा खबर