भूकम्पपछिका ६ वर्ष र पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण सम्पन्नताको चरणमा पुगेको बताउनु भएको छ ।

भूकम्प गएको ६ वर्ष पुरा हुन लागेको सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले विभिन्न प्रतिकूलता र जटिलताहरूका बाबजुद नेपालले गरेको पुनर्निर्माण विश्वमा नै उदाहरणीय बनेको बताउनुभयो ।

उहाँले यसै आर्थिक वर्षभित्र आधारभूत संरचनाहरूको पुनर्निर्माण सम्पन्न गर्ने र बाँकी रहेका कामहरू सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना बनाइरहेको पनि जानकारी दिनुभयो ।प्राधिकरणले ६ वर्षको अवधिमा भूकम्प प्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्त्विक सम्पदासहित ठुलो सङ्ख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्प प्रतिरोधी ढङ्गले पुनर्निर्माण गरिसकेको जनाएको छ ।

यस्तै कोरोनाका कारण सिर्जित जोखिमहरूको व्यवस्थापन गर्दै प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको  र पुनर्निर्माणको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको जनाएको छ ।

यस्तै भूकम्पले क्षति पुर्‍याएका पुरातात्त्विक सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भैसकेको र २८८ वटा पुनर्निर्माणको क्रममा रहेको बताउँदै वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । ।

भूकम्पपछिको अनुभव र सिकाइहरू अन्य मुलुकका लागि समेत अनुकरणीय हुने भन्दै प्राधिकरणले आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता भित्र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ । -रासस


ताजा खबर