“बजारमा नदेखिएका सामान दराजमा पाइन्छ भन्ने धेरैलाई लाग्न थालेको छ ”

कोभिड–१९ का कारण भएको लकडाउनमा सामाजिक दूरी कायम गरेर आफूलाई आवश्यक सामान खरिद गर्ने सबैभन्दा उत्तम विकल्प अनलाइन सपिङ भयो । त्यसपछि ई–कमर्सप्रति उपभोक्ताको आर्षण बढ्दै गएको छ । नेपालमा अनलाइन सपिङ कल्चरको विकास गर्न दराजले पनि यो समयको भरपुर उपयोग गर्दै क्रेता र विक्रेतालाई सहज बनाउन विभिन्न योजना ल्यायो ।

कम्पनीले साना तथा लघु उद्योगको उत्पादन कुनै सेवा शुल्कविना बिक्री गरिदिने प्रस्ताव गर्‍यो । त्यसपछि कम्पनीले नबिल बैंकसँग सम्झौता नै गरेर राम्रो छवि बनाएका उद्योगीलाई सारथिको नाममा सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्न थाल्यो । साना तथा लघु उद्योगको उत्पादनमा दराजको सहकार्यलगायतका विषयमा कम्पनीका चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलसँगको सफल कुराकानी ।

दराजले सारथिको अवधारणा किन ल्यायो ?
कोभिड–१९ का कारण धेरै साना उद्योगमा चालू पुँजीको अभाव भयो । दराजसँग करिब ६ हजार विक्रेता आबद्ध छन् । उनीहरूलाई हाम्रोतर्फबाट लकडाउनको समयमा केही सहयोग गर्न सकिन्छ कि भनेर सहयात्री कार्यक्रम ल्यायौँ । यसलाई धेरैले मन पराएपछि अझ अघि बढेर हामील नबिल बैंकसँग पनि सहकार्य गरेर सारथि कार्यक्रम ल्याएका हौँ ।

हाम्रो अध्ययनमा परेका साना तथा मझौला उद्योगलाई चालू पुँजीका कारण क्षमता वृद्धि गर्न नसकेको पाइएपछि नियमसंगत ढंगले कर्जा प्रदान गर्न आग्रह गर्‍यौँ । बैंक पनि त्यस्ता उद्यमी वा व्यवसायीलाई सहुलियतपूर्ण कर्जा लगानी गर्न तयार भयो । यसरी नबिल बैंकबाट कर्जा निकालेर आफ्नो क्षमता विस्तार गर्दै दराजमार्फत आफ्ना उत्पादन बिक्री गर्ने बाटो देखाउने कार्यक्रम नै सारथि हो । 

नेपाली उत्पादकहरूको बजार विस्तार सञ्जाल कमजोर भएर दराजले यसको जिम्मा लिएको हो ? 
कोभिड–१९ को त्रास र संक्रमणको आशंकाबीच मानिसहरू सकेसम्म घरमै बसिरहेका थिए । मानिस पसल वा भिडभाडमा नजाने हुनाले अत्यावश्यक वस्तु खरिद गर्ने शैली परिवर्तन भयो । यो समयमा साना तथा मझौला उद्योगलाई आप्mना उत्पादन बिक्री गर्न समस्या परेको हामीले पायौँ ।

विभिन्न उद्योगी हामीमार्फत सामान बिक्री गर्न चाहिरहनु भएको हाम्रो जानकारीमा आयो । उहाँहरूका सामान बिक्री गरिदिएबापत निश्चित शुल्क लियौँ । तर, उहाँहरूका लागि हामीलाई तिर्नुपर्ने शुल्क पनि ठूलो देखिन गयो । अहिलेको अवस्थामा शुल्क तिर्न गाह्रो भयो भन्ने गुनासो आएपछि निःशुल्क बिक्री गरिदिने योजना बनायौँ । उहाँहरू कोभिड–१९ का कारण साँच्चै प्रभावित हुनुभएको हाम्रो ठहर छ । 

अहिले सामान्य अवस्थामा ६० दिनसम्म उहाँहरूको सामान निःशुल्क बिक्री गर्ने योजना छ । त्यसपछि उहाँहरूको व्यवसाय बढ्यो, अब सेवा शुल्क तिर्न सक्ने पनि देखियो । निकै कम शुल्क लिने तयारीमा हामी छौँ । अर्थात् १ दशमलव १२५ प्रतिशत मात्र लिन्छौँ । 

नबिल बैंकसँग सम्झौता नै गरेर जानुको कारण साना तथा लघु उद्योग क्षमतावान् तर पुँजी अभावसँग जुधिरहेको भन्ने निष्कर्ष हो ?
अहिले धेरै साना तथा लघु उद्योगलाई बजारीकरण खर्च व्यहोर्न गाह्रो भइरहेको छ । हाम्रा अन्य धेरै संस्था र कम्पनीसँग पनि सहकार्य भइरहेको छ । त्यसमध्ये नबिलसँग पनि हाम्रो धेरै क्षेत्रमा सहकार्य भइरहेको छ । अहिलेको अवस्थामा कोभिडका कारण साना तथा समस्या भोगिरहेका लघु उद्योगीलाई सहयोग गर्ने प्रस्ताव पनि नबिलसँगै गर्‍यौँ । अनलाइनमा आउन खोज्ने धेरै एसएमई र संघर्ष गरिरहेका व्यवसायीलाई नबिल बैंक र हामीले सहयोग गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । दुवैको चासो एउटै विषयमा रहेकाले सम्झौता सम्भव भयो । 

नबिलसँगको सहकार्य र सारथि कार्यक्रमले एसएमईहरूलाई कत्तिको आकर्षित गरेको छ ?
हामीले सञ्चालन गरेको सहयात्री एउटा गेम चेन्जर कार्यक्रम नै भयो । लकडाउनपछि हामीले विक्रेतालाई दुई हप्तामा भुक्तानी दिने ठाउँमा एक हप्तामै दिन थाल्यौँ । कुनै शुल्क नलाग्ने व्यवस्था गरिदियौँ । त्यसमा हामीले लगभग सात हजार नयाँ विक्रेता दराजसँग जोडिन आइपुगे । यो ठूलो अत्यन्त राम्रो नतिजा नै हो । सारथिका बारेमा भन्नुपर्दा अहिले हामीले सुरु गरेको डेढ महिनामा करिब तीन सय विक्रेताले कर्जाका लागि कुरा अगाडि बढाएको जानकारीमा आएको छ । अहिलेलाई यो संख्या सन्तोषजनक नै हो । 

बजारमै गएर सामान छानेर मात्र किन्ने नेपालीको बानीलाई अनलाइन सपिङमा पूरै आकर्षित गर्न अबको योजना के छ ?
अहिले बजारमा अनलाइन बजारीकरणको प्रतिस्पर्धा पनि बढेको छ । अहिले थपिएका नयाँ कम्पनीले पनि अनलाइन सपिङलाई टेवा नै पुर्‍याएको छ । ई–कमर्स सम्बन्धित तर फरक प्रोडक्ट उपलब्ध गराउने फुडमान्डुजस्ता विभिन्न साइट सञ्चालनमा छन् । त्यस्तै, सामाजिक सञ्जालबाट आफ्नो सामान बिक्री गर्नेहरू पनि छन् । यो ज्यादै सकारात्मक वातावरण हो । 

यसले विक्रेता र क्रेता दुवै पक्षलाई ठूलो शिक्षा दिएको छ । अनलाइन बजारको विषयमा धेरै जानकारी दिएको छ । सामान्यतः बजारमा नपाइने र नदेखिएका सामान पनि अनलाइनमा पाइन्छ भन्ने धेरैलाई लाग्न थालेको छ । ई–कमर्स जटिल पनि छ । तर, क्रेता र विक्रेताबीच हामीले बुझाउनुपर्नेछ । अहिले हाम्रो साइटमा प्रत्येक दिन हजारौँ ग्राहकले सामान किनेपछि सामानका बारेमा प्रतिक्रिया दिन्छन् । त्यसले पनि अन्य ग्राहकलाई सामानबारे बुझाउन सहयोग पुगेको छ । 


ताजा खबर