आज थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा हाल कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत संक्रमित निको भएका छन् ।

आज थप १ हजार ९७ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म ९६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै आज ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म संक्रमित हुनेको सङ्ख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।यस्तै आज संक्रमित ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय ८८ पुगेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको परीक्षण सबैले गर्न गराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सातै प्रदेशका कोभिड अस्पताल तथा प्रयोगशालाहरूमा सबैको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेकाले सबैले सङ्क्रमणको परीक्षण गर्न अनुरोध गर्नुभयो ।

प्रवक्ता गौतमले सङ्क्रमणको लक्षण तथा चिन्ह देखिएका तथा स्वास्थ्य उपचारमा अस्पताल जानुपर्ने व्यक्तिहरूलाई समेत परीक्षण गरी सङ्क्रमणको चक्र फैलनबाट रोक्नमा सहयोग पुर्‍याउन आग्रह गर्नुभयो ।यस्तै सरकारले सबै प्रदेशहरूमा कोरोना सङ्क्रमणको एन्टीजेन परीक्षण सुरु गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमण देखिएका ठुला सङ्ख्या तथा समुदाय, सुरक्षाकर्मी, कैदी बन्दी जस्ता समूह र व्यक्तिहरूमा केन्द्रित भई एन्टीजेन परीक्षण गर्ने बताउनुभयो ।

सङ्क्रमणको लक्षण देखिएका व्यत्तिहरुलाई एन्टीजेन परीक्षण गरिने हुँदा नतिजा पोजेटिभ आएमा संक्रमण पुष्टि हुने भएकाले सोही अनुसार होम तथा संस्थागत आइसोलेसन वा अस्पतालमा व्यवस्थापन गर्न गराउन स्थानीय तह सरोकारवाला निकायलाई मन्त्रालयले अनुरोध गरेको छ ।

एन्टीजेन परीक्षण नेगेटिभ आएका व्यक्तिलाई पुनः पीसीआर परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।


ताजा खबर