आइपिएलमा आज बैङ्लोरले काेलकातालाई हरायाे

इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेञ्जर्स बैंग्लाेरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । जितसँगै बैंग्लोरले प्लेअफको यात्रा पक्का जस्तै गरेको छ । कोलकाताविरुद्धको खेलमा जित निकालेसँगै बैंग्लोर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो ।

कोलकताका पाँच जना ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । कोलकताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाएका थिए ।

लोकी फर्गुसनले १९ रन बनाउँदा कुलदीप यादवले १२ रनको योगदान गरे । यसैगरी टम बेन्टनले १० रन बनाए । उता बैंग्लोरका लागि मोहम्मद सिराजले घातक बलिङ गरे । सिराजले ४ ओभरमा २ ओभर मेडन राख्दै ८ रन दिएर तीन विकेट लिए । सिराजले २ को इकोनोमीमा बलिङ गरेका थिए । यसका साथै युचबेन्द्र चहलले २ विकेट लिए ।

जवाफमा बैंग्लोरले ओभरमा १३ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।

मध्यम सुरुवात गरेको बैंग्लोरले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । उसका ओपनर आरोन फिन्च १६ रनमा आउट भएपछि बैंग्लोरले पहिलो विकेट गुमायो । त्यसको लगत्तै अर्का ओपनर देभदत्त पाडिकलपनि आउट भए । उनले २५ रनको योगदान गरे ।

तर त्यसपछि कप्तान विराट कोहली र गुरकिरत सिंहले हैदरावादलाई जित दिलाए । जसमा गुरकिरतले २१  रन बनाए भने कोहलीले १८ रन बनाए ।

यो जितपछि बैंग्लोरले १० खेलमा १४ अंक बनाएको छ । उसले शिर्ष स्थानको दिल्लीसँग अंक बराबरी गरेपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ । कोलकाता भने चौथो स्थानमा कायमै छ । यो हारपछि कोलकाताले प्लेअफमा पुग्नका लागि अरु खेल कुर्नुपर्ने भएको छ । –एएनआई


ताजा खबर