अस्टियोपोरोसिस : ‘हड्डी कमजोर भएर भाँचिने समस्या’

बिश्व अस्टियोपोरोसिस दिवस अक्टोबर २० का सन्दर्भमा तयार पारिएको सामग्री

प्रवेश सिंह भण्डारी (एमएस,अर्थोपेडिक्स)

५५ बर्षिय रामकली श्रेष्ठको सामान्य ठेस लागेर नारीको हड्डी भाँचियो । अस्पतालमा एक्स रे गर्दा भाँचिएको देखिएपछि प्लाष्टर गरीयो ।

६५ बर्षिय जित बहादुर ढाड दुखेर कुप्रो परेको जस्तो अनुभव भएपछि अस्पतालको वहिरङ्ग बिभागमा पुगेर जचाउनुभयो । उहाँको दुखाई भने हाछिँउ गर्दा सुरु भएको थियो ।

परिक्षणका क्रममा उहाँको ढाड भाँचिएको देखियो र दुखाई कम हुने औषधि लिएर उहाँ घर फर्कनुभयो ।

७५ बर्षिय हजुरामाको कार्पेटमा गोडा अल्झियो पुठ्ठामा धेरै दुखेर गोडा टेक्न सक्नु भएन । अस्पतालमा एक्स रे गरेर हेर्दा पुठ्ठाको हड्डी भाँचिएको देखियो । त्यसको उपचार अप्रेशन गरेर इम्प्लान्ट राखेर गरीयो ।

यि सबै घटनाहरु प्रतिनिधि घटनाका रुपमा मात्र प्रस्तुत गरिएका हुन् । सामान्य रुपमा हेर्दा उमेरका कारणले भएजस्तो देखिएपनि यस्ता चोटहरुको मुख्य कारणका बारेमा खासै चर्चा गरिएको पाइँदैन । यस्ता चोटहरुमा उपचा। लक्षणको मात्र हुने गरेको तर कारणको उपचार भने भएको पाईँदैन । यस किसिमका अधिकांश चोटहरुको कारण भने अस्टियोपोरोसिस रहेको हुन्छ ।

अनुभवले के देखाउँछ भने रामकली जीको अब अर्को हड्डी भाँचिने संभावना पनि ८६% हुन आउँछ । जित बहादुर जीको जस्तै गरी हरेक २२ सेकेण्डमा एकजनाको मेरुदण्ड अर्थात ढाडको हड्डी अस्टियोपोरोसिसका कारण भाँचिइरहेको हुन्छ ।

यसरी अस्टियोपीरोसिसको कारणले मेरुदण्ड भाँचिने ५० बर्ष भन्दा बढी उमेरका मानिसहरुमा सोहि उमेर समूहका मानिसहरु भन्दा ८ गुणा बढी मृत्युदर रहेको अध्ययनले देखाएको छ ।

७५ बर्षकी हजुरामा जस्ता अस्टियोपोरोसिसका बिरामीहरुमध्ये ४०% पहिलेकै जसरी कसैको साहारा विना हिडडुल गर्न सक्दैनन् । उनीहरुको मृत्युदर आफुसँग रहेका अन्य दिर्घरोगहरुको जटिल अवस्थाका कारण हुन्छ । यसरी हुने मृत्यु दर हाड भाँचिएको पहिलो बर्षमै २०% सम्म हुन्छ ।

अस्टियोपोरोसिसका बारेमा जनचेतना जगाउन हरेक बर्ष अक्टोबर २० लाई अस्टियोपोरोसिस दिवसका रुपमा मनाउने गरिएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍अस्टियोपोरोसिस के हो ?

यो यसतो रोग हो जसमा हड्डिको घनत्व (Bone Density) कमहुने र हड्डिको गुणस्तर खस्किएर (Micro Architectural Deteriorate) कमजोर भएर सजिलै भाँचिने अवस्था आँउछ ।

यस्तो अवस्था थाहा नपाउने हुन्छ तर समस्या बढ्ने क्रममा नै रहेको हुन्छ । हड्डि भाँचिदा सम्म पनि खास लक्षण देखिँदैन ।

अझ सजिलोसँग बुझ्नलाई यसलाई धमिराले काठ खाएझैं भित्रिरुपमा हड्डीलाई कमजोर बनाउने जटिल किसिमको समस्याको रुपमा बुझ्न सकिन्छ ।

अस्टियोपोरोसिस कसरी हुन्छ ?

हड्डी एउटा जिवन्त तन्तु हो । जन्मेदेखिनै यसमा निरन्तर परिवर्तन भइरहन्छ । यसको लम्बाई र गोलाइमा बृद्धि भइरहन्छ । यो क्रम बढ्दो उमेरसम्म निरन्तर चलिरहन्छ । हड्डीमा क्याल्सियमका लवणहरुपनि थपिँदै जान्छ जसले हड्डीको घनत्व (Bone Density) बढाँउदै जान्छ । हड्डीको घनत्व बढ्ने यो क्रम ३० बर्षको उमेरसम्म निरन्तर रहन्छ । यस बाहेक हड्डी शरिरलाई चाहिने क्याल्सियमको भण्डारपनि हो । अन्य तन्तुमा क्याल्सियमको माग हुँदा हड्डिबाट क्याल्सिम रगतमा घुलेर आपूर्ति हुन्छ । क्याल्सियम जम्मा हुने र रगतमा घुलेर आपूर्तिहुने यो प्रकृया निरन्तर रहन्छ ।

उमेरको तेश्रो दशकपछि भने बार्षिकरुपमा ०.१% का दरले हड्डीको घनत्व घट्दै जान्छ । महिलाहरुमा भने महिनावारी रोकिएको पहिलो १० बर्षसम्म यो दर बृद्धि भएर ३% सम्म हुन्छ । ६० देखी ७५ बर्ष उमेर पछि यो दर 0.५% हुन्छ । हड्डिको घनत्व कति हुन्छ भन्ने कुरा यसको विकास क्रममा ब्यक्तिले गर्ने खानपान र शारिरिक तन्दुरुस्तीले निर्धारण गर्छ ।

यद्यपि हड्डीको घनत्व कमहुने किसिमका रोग तथा उपचारका क्रममा हुने बिभिन्न गतिविधिका कारण हड्डीको घनत्व कम भएर पनि अस्टियोपोरोसिस हुन्छ ।

हड्डिको घनत्वलाई रिटायर्डमेन्ट फन्ड अर्थात अवकाश पछिको पेन्शनका रुपमा पनि बुझ्न सकिन्छ ।जति जम्मा गर्नुभएको छ त्यति लामो अबधिसम्म प्रयोग गर्न सकिन्छ ।

अस्टियोपोरोसिसका लक्षणहरु र हुने कारणहरु :

अस्टियोपोरोसिसको बर्तमान अवस्थाः

विश्वमा हाल वार्षिकरुपमा ८९ लाख हड्डी भाँचिने कारण अस्टियोपोरोसिस रहेको अध्ययनहरुले देखाएका छन् । हरेक ३ सेकेण्डमा अस्टियोपोरोसिसका कारण मानिसहरुको हड्डी भाँचिने गरेको छ ।

संसार बिस्तारै बुढ्यौलीउन्मुख भइरहेको छ । आगामी सन् २०५० सम्ममा संसारको एक तिहाई जनसंख्या ६५ बर्षभन्दा माथिका र हरेक १० जना मध्ये एकजना अर्थात १०% जनसंख्या ८० बर्ष भन्दा माथिका हुने प्रक्षेपण गरिएको छ ।

सन् २०५० सम्ममा पुठ्ठाको हड्डी भाँचिने क्रम (Hip Fracture) बार्षिक रुपमा ६२ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । जसको आधा भन्दा बढी हिस्सा एशियमली मुलुकहरुमा हसने प्रक्षेपण गरिएको छ । हालसालै भारतमा गरिएको एक अध्ययन अनुसार कम आय भएका जनसंख्याको एकतिहाईमा अस्टियोपोरोसिस रहेको देखिएको छ ।

अस्टियोपोरोसिसका कारण स्वास्थ्यका उपलब्ध सिमित साधन श्रोत तथा त्यसमा रहेको अपर्याप्ततालाई अझ जटिल अवस्थामा लैजाने जोखिम बढेको छ ।

अस्टियोपोरोसिस निदान :

बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्टियोपोरोसिसको परिक्षणका लागि (Dexa Scan) डेक्सा स्क्यान प्रयोग गरिन्छ । यसले हड्डिको घनचत्व (Bone Density)लाई तीन प्रकारमा छुट्याउँछ ।

यसमा सामान्य (Normal), अस्टियोपिनिक (Osteopenic), अस्टियोपोरोटिक (Osteoporotic) समूहमा बिभाजन गरिन्छ । अस्टियोपोरोटिक समूहमा पर्ने मानिसलाई मात्र अस्टियोपोरोसिसको उपचार जरुरी हुन्छ । अस्टियोपिनिक समूहका मानिसलाई अस्टियोपोरोटिक हुनबाट जोगाउने उपाएहरु अपनाइन्छ । हाम्ो जस्तो सिमित श्रोत साधन भएको अवस्थामा सबै विरामीको पहुँचमा डेक्सा स्क्यान नहुन सक्ने भएकाले अस्टियोपोरोसिसले हड्डी भाँचिएकाहरु र उच्च जोखिममा रहेकाहरुको अस्टियोपोरोसिसको उपचार शुरु गर्नुपर्ने हुन्छ ।

अस्टियोपोरोसिसको उपचारः

अस्टियोपोरोसिसको निदान तथा उपचारको मुख्य कुरा भनेको हड्डी भाँचिने जोखिममा रहेका तर भाँचिईनसकेका बिरामीको समयमा नै उपचार गरेर भविष्यमा आउनसक्ने जटिल अवस्थाबाट जोगाउनु रहेको छ ।

यसको उपचारले अस्टियोपोरोसिसका कारण हुने हड्डि भाँचिने सम्स्याको दरलाई ८% बाट घटाएर २% मा सिमित गरिदिन्छ ।

अस्टियोपोरोसिसका उपचारमा हाल नेपालमा एन्टिरिजब्सन एजेन्ट र हर्मोन थेरापी लगायतका औषधिहरु नेपालमा उपलब्ध छन् ।

एन्टिरिजब्सन एजेन्टले हड्डीबाट क्याल्सियमका लवण घुलेर जाने प्रकृयालाई रोकीदिन्छ भने हर्मोन थेरापीले भने हड्डीमा नयाँ क्याल्सियम थप्ने प्रकृयामा मद्दत गर्दछ । यो सबै उमेर समूहका बिरामीमा प्रयोग गर्न सकिन्छ । सजिलै उपलब्ध हुने र कम नकारात्मक असर हुने यो उपचार तुलनात्मक रुपमा सस्तो र नतिजा पनि भरपर्दो छ । महिनावारी रोकीएका अस्टियोपोरोसिसका बिरामीहरुमा यो उपचारले मेरुदण्डको हड्डी भाँचिने दरलाई ३०% देखी ७०% घटाउँछ । त्यसैगरी पुठ्ठाको हड्डी भाँचिने दरलाई ४०% ले र मेरुदण्ड बाहेकका अन्य अस्टियोपोरोसिसका कारण हड्डी भाँचिने समस्यालाई १५ % देखी २० % ले घटाउँछ ।

हर्मोन थेरापी बिशेष अवस्थामा प्रयोग गरिन्छ जस्तो पाठेघर निकाल्ने अप्रेशनमा डिम्वाशय समेत निकाल्नु परेका (Oopherectomy) महिनावारी नरोकिएका बयश्क महिला बिरामीहरुमा प्रयोग गरिन्छ ।

अस्टियोपोरोसिसको रोकथामः

अस्टियोपोरोसिसको रोकथाम मानिसको खानपान र जिवनशैलीमा निर्भर रहन्छ । हुर्कदो उमेरमा पाएको पोषण र शारिरिक तन्दुरुस्तीले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

नियमित शारिरिक ब्यायामः बालबालिका तथा किशोर किशोरीहरुमा नियमित ब्यायामले हड्डीको घनत्व पर्याप्त बनाउन मद्दत गर्दछ । बयश्य तथा जेष्ठ नागरिकहरुमा भने यसले अस्टियोपोरोसिसको प्रकृयालई कम गर्नुकासाथै हाम्रो चाल र सन्तुलनलाई नियमित गरी हामीलाई लड्नबाट जोगाउँछ र हड्डी भाँचिनबाट बचाउँछ ।

पोषणः अस्टियोपोरोसिस रोकथाममा क्याल्सियम र भिटामिन डिको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले खानामा यि पोषक तत्वहरुको मात्रा मिलाएर खानु अनिवार्य हुन्छ । माछामासु हरिया सागपातका साथै फोर्टिफाइड फूड (सुदृढ खानेकुरा) बिहानको कलिलो घाम ताप्नाले शरिरले आफैं भिटामिन डि उत्पादन गर्छ ।

अस्टियोपोरोसिसबाट बच्न कस्तो जिवनशैली अपनाउनेः

अस्टियोपोरोसिसबाट बच्न धुमपान मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने र शारिरिक रुपमा सक्रिय रहने र पोषणयुक्त खानेकुरा खाने र परिवारमा अस्टियोपोरोसिस तथा हड्डि भाँचिने समस्या भएकाहरु, बाथ रोग भएकाहरु, थाइराइडको समस्या भएकाहरु तथा केमोथेरापी लिइरहेकाहरुले बिशेष ध्यान पुर्याउने र सम्बन्धित विषयका चिकित्सककहाँ गएर जचाउनुपर्ने हुन्छ ।

लेखक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिलमा आवद्ध हुनुहुन्छ ।


ताजा खबर