नेपाली काँग्रेसको १४‍औं महाधिवेशन अन्योलमा

कोरोना भाइरसको बढ्दो महामारी र गुटबन्दीका कारण आगामी फागुनमा हुने गरी तय गरिएको नेपाली कांँग्रेसको १४औँ महाधिवेशन कहिले हुने भन्ने अन्योल सिर्जना भएको छ ।

कोरोनाकै कारण समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा वडा, गाउँ, नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश सभाका अधिवेशन गर्न समस्या उत्पन्न भएको हो । प्रदेश सभासम्मका अधिवेशन सकिएको एक महिनाभित्र केन्द्रीय महाधिवेशन गर्न सकिने आकलन संस्थापन पक्षको छ ।

पछिल्लो पटक प्रकाशित कार्यतालिकामा धेरै परिमार्जन गर्नुपर्ने अवस्था आएपछि महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित समितिले तयार पारेको संशोधित कार्यतालिका पनि केन्द्रीय कार्यसमितिको बैठकमा पेस हुन पाएको छैन । क्रियाशील सदस्यता वितरणको कार्य पनि धेरै जिल्लामा अलपत्र परेको छ ।

यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका २७ जना केन्द्रीय सदस्यले विभाग गठन लगायतका विषयलाई लिएर सभापति देउवालाई लिखित असन्तुष्टि जनाएका छन् । असोज २२ गते भएको केन्द्रीय समिति बैठक २५ गतेलाई सरेको थियो तर बैठकमा सहभागी हुने पदाधिकारी तथा केन्द्रीय सदस्यको कोभिड–१९ जाँच गर्दा केही नेतामा सङ्क्रमण देखिएपछि बैठक कहिले बस्ने भन्ने अन्योल कायमै छ ।

सभापति देउवाले सोमबार पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बोलाएर वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमै गएर बैठकको मिति तय गर्न निर्देशन दिनुभएको थियो ।

मुख्य सचिव पौडेलका अनुसार, वरिष्ठ नेता पौडेलले आफ्नो परिवारका सबै सदस्यको कोभिड–१९ को जाँचका लागि स्वाब दिएको र अन्तिम नतिजा नआउँदासम्म निवासमा नआउन भने पछि बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।

सभापति देउवाले दशैँ अगाडि अनिवार्य रूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउनै पर्ने भएकाले आवश्यक व्यवस्थापन गर्न सचिवालयलाई निर्देशन दिनुभएको जानकारी पार्टी सचिवालयले दिएको छ । –रासस


ताजा खबर