‘पछिल्लो १० वर्षमा मुटुरोगी दोब्बर भए’

डा.अनिल भट्टराई , वरिष्ठ मुटुरोग विशेषज्ञ / सन्दर्भः विश्व मुटु दिवस

नेपालको कुल जनसंख्याको १० प्रतिशतमा मुटुको समस्या पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १ प्रतिशत मानिसमा जन्मजात मुटुरोग लाग्ने गरेको छ । नेपालमा गरिएको विभिन्न अनुसन्धानबाट पनि यो तथ्य पुष्टि भएको छ । मुटुरोगीको संख्या जिल्ला विशेषमा फरक छन् ।

संसारभरि वार्षिक २ करोड मानिसको मृत्युको कारण मुटुरोग बनेको छ । विकासोन्मुख देशका ३० प्रतिशत मानिस मुटुरोगका कारण मर्ने गरेका छन् । संसारमा रोगका कारण हुने कुल मृत्युमध्ये मुटुरोगका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ भने दोस्रोमा क्यान्सर पर्छ ।

करिब १ प्रतिशत मानिसमा जन्मजात नै मुटुरोग लाग्ने गर्छ । वयष्कहरूमा हुने मुटुरोगको भने विभिन्न भागमा विभाजन रहेको पाइन्छ । अहिलेको अवस्थामा मुटुरोगमा पनि बाथज्वरो पहिलो समस्याका रूपमा देखापरेको छ । दोस्रो समस्याका रूपमा जन्मजात देखापर्ने मुटुरोग छ । तेस्रो, क्रोनरी हार्ट डिजिज, जसमा मुटुको नली बन्द हुने र पछि गएर मुटुको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँछ । त्यसबाहेक पनि अन्य मुटुरोगहरूमा मुटुको मांसपेशीको रोग, उच्च रक्तचापलगायत मुटुका रोगहरू छन् । समग्रमा भन्नुपर्दा उच्च रक्तचाप मुटुको रोग नभए पनि यसलाई क्यार्डियोभास्कुलर डिजिज नै भनिने भएकाले यसलाई मुटुरोग नै मान्ने गरिएको छ । रक्तनलीको भित्री भागमा एकप्रकारको बोसो जम्मा भएपछि रक्तनली साँगुरो हुन्छ, जसका कारण मानिसमा रक्तचाप बढ्ने समस्या देखापर्ने गर्छ । उच्च रक्तचापले मुटु तथा रक्तनली दुवैमा प्रभाव पार्ने भएकाले नै यसलाई कार्डियोभास्कुलर डिजिज भनिएको हो ।

करिब १० प्रतिशत मुटुरोगीमध्ये रक्तचापका बिरामीलाई सामान्य रूपमा औषधिको प्रयोग गर्दा रोग निको हुन सक्छ । सामान्यखालका मुटुरोग पनि औषधिको सेवनपश्चात् नै निको हुने गर्छन् । जन्मजात मुटुरोग लागेका मध्ये करिब ९५ प्रतिशत रोगीको अप्रेसन नै गर्नुपर्ने हुन्छ । वयष्कहरूमा भने यकिन तथ्यांक उपलब्ध छैन ।

यदि अघिल्लो पुस्तामा कसैलाई मुटुरोग लागेको छ भने पछिल्ला सन्ततीमा समेत (वंशानुगत कारणले) मुटुरोग लाग्ने गर्छ । यदि गर्भवती अवस्थामा पोषणयुक्त खानाको अभाव भएका पनि मुटुरोग लाग्ने गर्छ । कतिपय मुटुरोग रगतमा अक्सिजनको मात्रामा कमी भएका पनि लाग्ने गर्छ । ३५ वर्षभन्दा बढी उमेरका महिलाले बच्चा जन्माएमा पनि त्यस्ता आमाबाट जन्मिएका बच्चामा कतिपय अवस्थामा मुटुरोग लाग्ने गरेको छ । गर्भावस्थामा धूमपान, मद्यपान तथा सुर्तीजन्यपदार्थको सेवन गरेमा पनि मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्न सक्छन् । गर्भावस्थामा आमाले कडाखालका रोग लागेर विभिन्न प्रकारका औषधिको प्रयोग गरेमा पनि बच्चामा जन्मजात मुटुरोग लाग्ने गर्छ ।

जीवनशैलीका कारण लाग्ने मुटुरोगमा उच्च रक्तचाप एक हो । बढी मात्रामा चिल्लो तथा बोसो भएको खानेकुरा खानाले उच्च रक्तचाप हुने गर्छ । बढी मात्रामा कार्बाेहाइड्रेटयुक्त खानेकुराहरू खानाले पनि मुटुरोगको जोखिम बढ्ने गरेको पाइन्छ । यदि मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा पनि मुटुरोग लाग्ने गर्छ । उच्च रक्तचाप तथा मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा मुटुरोगको जोखिम बढ्छ । शारीरिक व्यायामको कमी, धूमपान, मद्यपानलगायत कारण पनि मुटुरोग लाग्ने गर्छ । बढी तनावपूर्ण जीवनशैलीका कारण पनि मुटुरोग लाग्ने सम्भावना बढ्छ ।

पछिल्लो १० वर्षमा मुटुरोगीको संख्या दोब्बर नै भएको छ । सहरी क्षेत्रका मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण वर्तमान समयमा ग्रामीणभन्दा सहरी क्षेत्रमा मुटुरोगीको संख्या बढी देखिएको छ । कतिपयमा जन्मजात नै मुटुरोग हुने भएकाले पनि पछिल्लो समय मुटुरोगीको संख्या बढेको हो । मनमोहन कार्डियो थोरासिस एण्ड भाष्कुलर सेन्टरमा भने दैनिक रूपमा ओपिडीमा २ सयको संख्यामा मुटुरोगी उपचारका लागि आउने गरेका छन् भने वार्षिक रूपमा यो अस्पतालले करिब ७ सय मुटुरोगीको शल्यक्रिया गर्ने गरेको छ । हाम्रोमा दैनिक शल्यक्रिया हुँदैन । एक दिन ओपिडी जाँच हुन्छ भने एक दिन शल्यक्रिया हुन्छ ।

नेपालमा कुल जनसंख्याको करिब १० देखि १५ प्रतिशत मुटुरोगी छन् । तीमध्ये सबैभन्दा बढी बाथ ज्वरोका कारण हुने मुटुरोगका बिरामी छन् । त्यसपछि जन्मजात मुटुरोगीको संख्या दोस्रो स्थानमा छ । हृदयाघात गराउने मुटुरोगीको संख्या तेस्रो स्थानमा छ भने मांसपेशीसम्बन्धी मुटुरोगी पनि नेपालमा उल्लेख्य छन् । विश्वमा जेजस्ता मुटुरोग पहिचान भएका छन्, ती सबै नेपालमा पनि देखापरेका छन् । सम्पूर्ण मुटुरोगको उपचार काठमाडौंमा मात्रै उपलब्ध हुने गरेको वर्तमान अवस्थामा ती सुविधाहरू उपत्यकाबाहिर पनि पुर्याउनु आवश्यक छ । काठमाडौंबाहेक धरानमा पनि मुटुरोगको उपचार भने हुने गरेको छ ।

मुटुको सबैभन्दा बढी शल्यक्रिया गंगालाल अस्पतालमा हुने गरेको छ । त्यसपछि शल्यक्रिया गर्नेमा हाम्रो संस्था मनमोहन कार्डियो थोरासिस एण्ड भाष्कुलर सेन्टर दोस्रोमा पर्छ । हरेक प्रदेशमा एक मुटुरोग उपचार केन्द्र खोल्नु आवश्यक देखिन्छ । नेपालमा सबैखालका मुटुरोगको उपचार उपलब्ध छ ।

नेपालका अस्पतालहरूले मुटुरोगमा प्रदान गर्ने सुविधा निकै नै गुणस्तरीय छ । यहाँ मुटुरोगसम्बन्धी सम्पूर्ण उपचार उपलब्ध छन् । विदेश गएर प्रशस्त पैसा खर्चिएमा मात्रै उपचारमा गुणस्तरीयता पाइन्छ भन्ने सोचाइ एकदमै गलत हो । नेपालमै हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौँ । विदेशमा २०–२५ हजार डलर पर्ने सेवा नेपालमा ४–५ हजार डलरमै पाउन सकिन्छ । त्यसबाहेक मुटुको प्वाल टाल्ने प्रविधि, मुटुको भल्ब फेर्ने प्रविधि पनि नेपालमा विदेशमा जस्तै गुणस्तरीय छन् ।


ताजा खबर