वामदेव गौतमलाई राष्ट्रियसभामा सदस्य मनोनित गर्न सिफारिस गर्ने नेकपा सचिवालय बैठकको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो।

सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ। गएको २० फागुनदेखि राष्ट्रियसभा सदस्यमा एक मनोनित सदस्य रिक्त थियो।

नेकपाभित्रको विवादकै कारण अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल पूरा भएको ६ महीनासम्म उक्त पद रिक्त रह्यो। तर, बिहीबारको सचिवालयले भने गएको १४ फागुनको सचिवालयकै निर्णय सदर गरेको छ। १४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई पठाउने निर्णय गरेको थियो।

तर, प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिने अडान लिएका थिए। सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनलाई सचिवालय र स्थायी कमिटीमा छलफल गर्ने समेत निर्णय गरेको छ।


ताजा खबर