पौडेल र कोइरालाबाहेक सबै उम्मेद्‍वार देउवाकै योजनामा

नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औं महाधिवेशनमा देउवा काँग्रेस र कोइराला काँग्रेस नामको पुरानै गुटबीच प्रतिष्पर्धा हुने भएको छ । रामचन्द्र पौडेल र कृष्ण सिटौला गुट भनिएकाहरु सक्रिय देखिएपनि यसपटक महाधिवेशनमा सिटौलाले देउवा र पौडेल समूहले कोइराला गुटलाई सघाउने भएको छ ।

यसअघिको १३औं महाधिवेशनमा सिटौला र पौडेल दुवै शेरबहादुर देउवासँग पराजित भएका थिए । यसपटक देउवालाई जसरी पनि पराजित गर्ने भन्दै कोइराला पक्ष भनिएकाहरु डा.शेखर कोइराला, डा.शशांक कोइराला, महेश आचार्य, डा.रामशरण महत, सुजाता कोइराला, मिनेन्द्र रिजाल लगायतले मिलेर अगाडि बढ्ने गरी छलफल सुरु गरिसकेका छन् । यसमा पौडेल समूह र गणेशमानसिंह पुत्र प्रकाशमान सिंह श्रेष्ठ पक्षसँग समेत छलफल अगाडि बढेको काँग्रेसका एक नेताले बताए ।

यता पार्टी सभापति शेरबहादुर देउवा नै अबको महाधिवेशनमा सभापतिको उम्मेद्वार हुने गरी देउवा पक्षमा पनि छलफल भएको छ । यसमा सिटौला समूहका युवाहरुलाई समेत समेटेर अगाडी बढ्ने बिषयमा पनि बहस सुरु भएको देउवापक्षीय नेताहरु बताउँछन् । उनीहरुले देउवापक्षीय नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको उम्मेद्वारी हुनसक्ने हल्ला चलाएर केही कार्यकर्तालाई प्रभावमा राख्‍ने र अन्तिममा देउवालाई मात्रै उम्मेद्वार बनाएर एकलौटी जित्‍ने रणनीति बनाएको चर्चा पनि बाहिर आएको छ ।

पार्टी सदस्यता नविकरण र प्रतिनिधि छनौटको विधी सहित महाधिवेशनको अन्य प्राविधीक काम केही पनि अगाडि नबढेको अवस्थामा पार्टीको आगामी सभापती कसलाई बनाउने भन्‍नेमा चाहिँ दुईपक्षीय र त्रिपक्षीय छलफल हुँदै आएको छ । तोकिएकै मितीमा महाधिवेशन सम्पन्‍न हुन्छ वा सर्न सक्छ भन्‍नेमा समेत शंका छ । अहिले बजार हल्लालाई आधार मान्‍ने हो भने १४औं महाधिवेशनमा देउवासहित झण्डै एक दर्जन नेता सभापतीको आकांक्षी छन् ।

काँग्रेस सभापतिको लागि देउवासहित नेता पौडेल, सिटौला, निधि, प्रकाशमानसिंह, डा.शेखर कोईराला, डा.शशांक कोईराला, गगन थापा, डा.रामशरण महत, सुजाता कोईराला, गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । यीमध्ये निधी र गोपालमान श्रेष्ठ देउवाकै गुटका हुन् ।

महाधिवेशनमा धेरैले दाबी गरेपनि पौडेल र कोइराला दाजुभाईबाहेक अरु उम्मेद्वार देउवालाई नै सघाउने गरी उनकै समूहको योजनामा डमी तयार गर्न खोजिएको आरोप समेत देउवालाई लागेको छ । देउवाले साम, दाम जुनसुकै प्रभावमा पारेर भएपनि महाधिवेशन जित्‍ने र अन्यलाई महाधिवेशनको दिनसम्म प्रचार गर्न दिने तर महाधिवेशन शुरु भएपछि आफुलाई सघाउने अवस्थामा ल्याउने बुझिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछी सार्वजनिक कार्यक्रममा कम देखिएका विजयकुमार गच्छदार र भर्खरै काँग्रेस प्रवेश गरेका राप्रपा नेता सुनिलबहादुर थापाको समूहले यसअघि नै विनासर्त देउवालाई नै सघाउने बताइसकेको छ । यस बाहेक कृष्ण सिटौला समूहका युवाहरु पनि देउवालाई सभापति दिएर अन्य पद आफुहरुले लिने पक्षमा देखिएका छन् । जसले गर्दा देउवालाई सहज हुने देखिन्छ ।

काँग्रेसमा यसपटक कोइराला परिवारमा नेतृत्व फर्काउने योजनामा शशांक, शेखर र सुजाता रहेको भएपनि पौडेल पक्षले कोइराला दाजुभाईलाई खासै रुचाएका छैनन् । यता पौडेल पक्षले पनि यस पटक कोइराला पक्षबाट पूर्ण सहयोग नपाउने अवस्था छ । डा.शशांक कोइरालाले त सिधै रामचन्द्र दाईले देउवा हराउन सक्नुहुन्‍न भनेर सार्वजनिक रुपमै बोलिसकेका छन् ।

यो अवस्थामा गणेशमानपुत्र प्रकाशमानसिंह पनि कोईराला परिवारले आफ्ना बाबु गणेशमानलाई मर्ने दिनसम्म दुःख दिएको भन्दै सकेसम्म आफैं सभापति उठ्ने नसके देउवालाई नै सघाउन सक्ने देखिन्छ ।


ताजा खबर