मिस्टर कर्नः अनौठो रेष्टुरेन्ट जहाँ मकैको मःमः र चाउमिन पाइन्छ !

बफ, भेज, चिकेन र मटन मःमः तथा चाउमिनबारे त धेरैलाई थाहा छ । तर, काठमाडौंमा एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ मकैको मःमः तथा चाउमिन पाइन्छ । जहाँ हरेक दिन खाजा खान जानेको भीड लाग्छ ।

हो, काठमाडौंको चाबहिलमा खुलेको छ, ‘मिस्टर कर्न’ । जहाँ मकैका विभिन्न परिकार खान पाइन्छ । र, क्रमशः मिस्टर कर्नको लोकप्रियता बढ्दो छ ।

‘मिस्टर कर्न’ रेष्टुरेन्टको स्थापना गरेका हुन् ललितपुरको सानागाउँका दुर्गाबहादुर सुवेदी र राजकुमार अधिकारीले । लामो समय वैदेशिक रोजगारी गरेर स्वदेश फर्किएका सुवेदीले अधिकारीको सहकार्यमा उक्त रेष्टुरेन्ट खोलेका हुन् ।

कसरी खुल्यो ‘मिस्टर कर्न’ ?

सुवेदी र अधिकारी छिमेकी हुन् । ललितपुर सानागाउँमा उनीहरूको घर छ । सुवेदीको जन्मथलो धनकुटा । अधिकारीको मोरङ । मर्निङ वाकले जुरायो उनीहरूको भेट ।

भेट बाक्लिन थाल्यो । सम्बन्ध घनिष्ठ बन्यो । छिमेकीबाट उनीहरूको सम्बन्ध व्यावसायिक बन्यो । लामो समय विदेश बसेका सुवेदी ‘नेपालमै केही गर्नुपर्छ’ भन्ने सोचले नेपाल फर्किएका थिए भने अधिकारी सिभिल इन्जिनियर थिए ।

सम्बन्ध बाक्लिएसँगै उनीहरूबीच सानो लगानीमा व्यवसाय गर्ने योजना बन्यो । तर के गर्ने ? छलफल चल्यो । रिसर्च गर्न थाले ।

नेपालमा धेरै प्रकारका खाना–खाजाको व्यवस्था छ । तर, मकैको परिकार भएको रेष्टुरेन्ट देखेनन् । त्यसैले मकैको परिकार पाइने रेष्टुरेन्ट खोल्ने निष्कर्षमा पुगे र चाबहिलमा खोले ‘मिस्टर कर्न’ ।
मिस्टर कर्न पछिल्लो समय निकै चर्चामा छ । यहाँ मकैकै मःमः, पकौडा, ढिँडो, बर्गर, सुप, अमेरिकन कर्न, बोयल कर्न, स्विट कर्न, अचार, तरकारीको स्वाद चाख्न पाइन्छ । उक्त रेष्टुरेन्ट १२ लाख रूपैयाँको लगानीमा खोलिएको संचालक अधिकारीले बताए ।

‘मकैको परिकार कसरी बनाउने भन्ने आइडिया थिएन,’ अधिकारीले भने, ‘विदेशमा चलेका राम्रो मकैको परिकार पाउने रेष्टुरेन्टलाई फलो गर्यौं । त्यहीँबाट हेरेर परिकार बनाउन सिकेका हौं ।’ युट्युबमा हेरेर पनि पकाउने आइडिया सिकेको उनी बताउँछन् ।

‘अब मकैको चिया थप्ने तयारी गरेका छौं,’ अर्का सञ्चालक सुवेदीले भने, ‘मकैको जुँगाको चिया बनाउने हो । स्वास्थ्यलाई पनि फाइदा गर्छ ।’

प्रविधि नभएकाले नेपाली मकैको प्रयोग गर्न नसकिएको उनले बताए । ‘नेपालमा उत्पादित मकैलाई प्राथमिकता दिनुपर्ने हो । तर, प्रशोधन गर्न प्रविधि नभएकाले विदेशबाट प्याकेटमा आएको मकै नै प्रयोग गर्न बाध्य छौं,’ सुवेदीले भने ।

ग्राहकले पनि मकैको परिकार रूचाएका छन् । अब अर्को ब्रान्च ललितपुरमा खोल्ने तयारी उनीहरूले गरेका छन् ।


ताजा खबर