न्यू नर्मल : ‘लर्निङ टु लिभ विथ द कोरोना भाइरस’

सम्पादकीय

पछिल्लो समय खुब चर्चामा छ ‘न्यू नर्मल’ ‘लर्निङ टु लिभ विथ द कोरोना भाइरस’ बिश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको यो शव्दाबलीले अव कोरोनाबाट छिटै उन्मुक्ति नमिल्ने कुराको संकेत गर्दै यसको साथमा कसरी सामान्य जिवनयापन गर्ने भन्ने कुरालाई स्थापित गरेको छ ।

कोरोना टेस्ट गरेको मेरो त नेगेटिभ देखियो, म सेफ छु भन्दै हिँड्ने अवस्था छैन अहिले । कोरोना सबैलाई र जहाँपनि लाग्नसक्छ । आज नेगेटिभ टेस्ट देखिएकामा भोली पोजेटिभ पनि आउन सक्छ । कसैलाई नभेटेको मान्छेमा पनि संक्रमण देखिन सक्छ ।

क्वारेन्टाइनमा बसेकालाई पनि पुनः देखिन सक्छ । निरोगीलाई पनि लाग्न सक्छ कोरोना भाइरस । नछुनेलाई छुँदैछुँदैन । त्यसैले सबैले यो बुझ्नु जरूरी छ कि यो सबैलाई लाग्नपनि सक्छ नलाग्नपनि सक्छ । लागेकामा वाइयात कूप्रचार गर्ने र नलागेकाले जोगिनका लागि मानवीय मूल्य मान्यता विर्सने गर्नु सबैभन्दा ठूलो भूल हुनेछ जुन क्षमाको दायरामा ल्याउन सकिँदैन ।

सबैलाई रोग लाग्नसक्ने भएकोले सबैले मानवीय व्यवहारलाई नियन्त्रण गर्दै जीउने अभ्यास बलियो बनाउनु नै कोरोनाभाइरसले दिएको शिक्षा हो । किनकी यो अहिले नै निको हुने र विश्वबाट समाप्त हुने कुनै रेखा कोरेर भाइरसले  “म आएँ…अब जान्छू” भनेको छैन ।

२१ औँ शताब्दिमा हामी आफूले आफूलाई यतिविघ्न माहिर सम्झिरहेको यो आधुनिक समयमा कोरोना आक्रमणले विश्वलाई अहिले त्राहिको अवस्थामा पुर्याएको छ । भाइरसबाट मृतकको संख्या तिनलाख पुग्न लागेको छ । ४४ लाखको हाराहारीमा संक्रमितको संख्या पुगिसकेको छ । यस्तै नेपालमा पनि २१९ जनामा कोरोना पोजेटिभ देखिएको छ । परीक्षणकाे दायरा बढ्दै जाँदा देशमा पनि संक्रमितकाे संख्या बढ्दै गएकाे देखिएकाे छ ।

अमेरिकाजस्तो बलवान भनिएको राष्ट्र अहिले कोरोनाको कहरमा बिताइरहेको छ । विकसितदेखि अल्पविकसित मुलुक सबैको कोरोना आज साझा मुद्धा बनेको छ । सबैलाई चिन्ता बढाइदिएको छ ।

यो विषम अवस्थामा अधिक देशहरु लकडाउनसँगै पूर्ण प्रतिवन्धमा छन् । भाइरसबाट मुक्तिको लागि हरतरहको प्रयासमा जुटेका छन् । तर अब सधैँ यो भाइरससँग भाग्ने कि जुध्ने ? यो गहन प्रश्न वैश्विक जनतासामू पनि आएको छ अहिले ।

नयाँ भाइरस, त्यहिँमाथि रुप फेरिरहने । स्वरुप परिवर्तनले पनि कुनै भ्याक्सिन या उपचारपद्धति विकास गर्न नसकिरहेको यो अवस्थामा कोरोना भन्दै विश्व बन्द गरेर अब जीवन झन कसरी चल्ला सबैको चासो भएको छ ।

अहिलेको समयमा आउट कोरोना गर्नसक्ने अवस्था देखिँदैन । इन अर्थात विथ कोरोना नै हामी जिउनुको विकल्प छैन । यसको लागि नियमलाई उच्चतम विन्दुमा पालना गर्दै कोरोना सँगसँगै हामी व्यवहार चलाउनु पर्ने दिन आएका छन् । तसर्थ पनि विथ कोरोना हामी जिउन सक्नु नै अहिलेको चुनौति हो र हामीले नचाहेरै भएपनि यो अभ्यास गर्नैपर्ने हुन्छ ।

परीक्षण र उपचारको अवस्थामा सुधार गर्दै सामाजिक दुरीको पालना गर्दै सबैकुरामा विस्तारै होमिनुको विकल्प हामीसँग छैन । सँधैभरी घरभित्र थुनिँदा पनि जीवन कष्टकर मात्र होइन कयौँ समयसम्म सन्तुलनमा आउन हम्मे पर्छ । फेरी योबीचमा आत्महत्या, बेरोजगारी, भोकमरी, कालोबजारी, मानसिक तनाव, आर्थिक संकट झनै झेल्नुपर्ने हुनसक्छ । जसले काेराेनाले लिने ज्यानकाे संख्याभन्दा झनै भयावह हुन सक्छ ।

घरमा थुनिने भनेकाे भइन्जेल र पुर्याइन्जेल मात्र हो । त्यो सकिएपछि झनै बिकराल समस्या आउन सक्छ । यहाँ रहरले मात्र दिएका छन, केवल प्रचारकाे लागि । कहरले राहत न दिइएकाे छ न पाउनेले पाएकाे नै छ । यो नै अन्तिम भाइरस र महामारी सायद नहोला । यसपछि पनि यस्ता महामारी आउन सक्छन् । तसर्थ सोतर्फ पनि ध्यान दिई दिर्घकालीन योजना सरकारले ल्याउनु जरुरी छ । सधैँ क्षणिकतामा नरमाएर दिर्घकालीन योजना र त्यसको दिगो व्यवस्थापनमा ध्यान दिनु जरुरी भइसकेको छ ।

यसकारण पनि अब विथ कोरोना गरिखान थाल्ने हो कि ! सबैका थैली रित्तिइसके, रुघा लाग्दा डिकोल्ड किन्ने पैसा पनि सकिएको छ । हुनेले सुनकाे बाकसमा मृत ज्यान सेलाउलान तर नहुनेकाे सदियाैँदेखि कात्राे किन्ने पैसा छैन । दुःखमा जनतासँगकाे साथकाे मात्रा जुन मात्रामा दिनुपर्ने थियाे तिमीले सरकार ! त्याे तिमीले दिन नसकेकै हाे, याे प्रतिपक्षी स्वर हाेइन जनताकाे सुझाव हाे ।

यो कोरोना दुइदिनमा सकिने देखिएन, सदियौँ पिरोल्ने पक्का देखिएको छ । अब आउट कोरोना सकिन्न, विथ कोरोना जीवन जिउनुको विकल्प छैन । याे अनुसारकाे तयारीमा अब लाग्ने हाे कि !


ताजा खबर