‘स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने घटना खेदजनक’ : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने घटना खेदजनक भएको र यसले  दुःखित बनाएको बताउनुभएको छ ।

प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको बताउँदै सभापति देउवाले अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोबैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु,’ उहाँले आइतबार एक अपिल जारी गर्दै भन्नुभएको छ, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु ।’

आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरु सँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भुमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी र गाउँ–शहर देखि अस्पताल सम्मको सफाइमा खटिएका सफाईकर्मीको देउवाले भूमिकाको प्रशंसा गर्नुभएको छ ।

देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न म सरकारलाई अपील गर्दछु । उहाँले पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण गर्न माग गर्नुभएको छ ।

उहाँले लाखौंको संख्यामा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्नुभएको छ ।

सभापति देउवाले कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुन सबै दल तथा जनप्रतिनिधिलाई अपील गर्नुभएको छ ।


ताजा खबर