आन्दोलनका क्रममा गिरफ्तार विद्यार्थी छाड्न नेविसंघको माग

नेविसंघले आन्दोलनका क्रममा काठमाडौँ र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी रिहाइ गर्न सरकारसँग माग गरेको छ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले शुुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाइ गर्न माग गरेका हुन्। आन्दोलनका क्रममा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थी नेता श्यामराज ओझा, सम्झना खत्री, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवर, सञ्जय चौधरी लगायतलाई पक्राउ गरिएको नेविसंघले जनाएको छ।

अध्यक्ष ढुंगानाका अनुसार २७ साउनमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षसँग विभिन्न माग राख्न जाँदा प्रहरीले ती विद्यार्थी गिरफ्तार गरेको थियो। उनीहरुले वीरगञ्जमा स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने, कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखी शान्तिपूर्ण आन्दोलन गर्दै आएको उनको भनाइ छ।

आम विद्यार्थीको भविष्यलाई मध्यनजर गरी वैकल्पिक विधिबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गर्दा प्रहरीले धडपकड गरेको नेविसङ्घले जनाएको छ। नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीले आफ्ना जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले गिरफ्तार गरेर झुटा मुद्दा लगाउनु दुःखद भएको बताए। रासस


ताजा खबर