नारायणी अस्पतालका चिकित्सक र नर्ससहितका साढे ३ सय कर्मचारीद्वारा सामूहिक राजीनामा

नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिन बाध्य जानकारी दिए ।

उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । “तर, स्वीकृत भएको छैन,” उनले भने, “अहिले सेवा दिइरहेकै छौं ।”

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाएको उनले बताए ।

गत साउन २४ गते विहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो  । सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए ।

तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ । उनीहरुले अस्पतालका चिकित्सकविरुद्ध नाराबाजी समेत गरेको अस्पतालकै एक नर्सले बताइन् ।


ताजा खबर