‘कोभिड-१९ अहिलेसम्मकै कठोर जनस्वास्थ्य सङ्कट हो’

 विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले कोभिड–१९ अहिलेसम्मकै सबैभन्दा कठोर जनस्वास्थ्य सङ्कटको रुप लिएको जनाएको छ । डब्ल्युएचओले कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म स्वास्थ्य सङ्गठनले घोषणा गरेको जनस्वास्थ्य सङ्कटमध्ये सबैभन्दा कठोर बन्न पुगेको टिप्पणी गरेको हो ।

स्वीटजरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै डब्ल्युएचओका महानिर्देशक डा. टेड्रस अदनोम गेब्रेससले कोभिड–१९ बाट विश्वका एक करोड ६० लाख व्यक्ति सङ्क्रमित भएको बताउनुहुँदै यस्तो टिप्पणी गर्नुभएको हो । कोभिड–१९ बाट हालसम्म छ लाख ४० हजार व्यक्तिले ज्यान गुमाएका छन् । उहाँले भन्नुभयो, “कोभिड–१९ को महामारी अझै तीव्र हुनेछ, पछिल्लो छ सातामा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या दोब्बर भएको छ ।”

विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको चीनबाट सुरु भएको कोभिड–१९ को सङ्क्रमण हाल दोस्रो सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतमा उच्च अवस्थामा पुग्दैछ । भारतमा दैनिक ५० हजार जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमणको पुष्टि भइरहेको छ । करिब ३४ करोड जनसङ्ख्या भएको अमेरिकामा दैनिक ६५ हजार सङ्क्रमित थपिँदैछन् ।

भारत, अमेरिका र ब्राजिलमा प्रत्येक दिन करिब एक एक हजार मृतक कोभिड–१९ को सङक्रमणबाट ज्यान गुमाइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले यसअघि सन् २००९ मा ‘एचवानएनवान’को प्रकोप, सन् २०१४ मा इबोला सङ्क्रमण, सन् २०१५–१६ मा जिका भाइरस प्रकोप, सन् २०१८–२० मा किभु इबोला प्रकोपको क्रममा जनस्वास्थ्य सङ्कटको घोषणा गरेको थियो ।  बीबीसी


ताजा खबर